नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले विगतदेखि उठाउँदै आएको भ्रष्टाचारमुक्त समाजको एजेन्डा अहिले ‘जेनजी’ पुस्ताले समेत उठाउन थालेको बताएका छन्। आफ्नै निर्वाचन क्षेत्रमा मतदातासँगको भेटघाटका क्रममा उनले भ्रष्टाचारमुक्त समाज निर्माण नगरी देशको विकास सम्भव नहुने धारणा राखे।
कोइरालाले भ्रष्टाचारविरुद्धको आवाज कुनै नयाँ विषय नभएको उल्लेख गर्दै आफूले २०६४ सालको निर्वाचनदेखि निरन्तर यही मुद्दा उठाउँदै आएको बताए। ‘भ्रष्टाचारमुक्त समाज नबनाई विकासका काम अगाडि बढ्न सक्दैन। जेनजीले पनि अहिले यही कुरा गरिरहेका छन्,’ उनले भने, ‘अरू नयाँ पार्टीहरूले के गरिरहेका छन् मलाई थाहा छैन। तर मैले तपाईहरूसँग ६४ सालको चुनावदेखि अहिलेसम्म एउटै कुरा भनिरहेको छु, भ्रष्टाचारमुक्त समाज बनाऔँ, सुशासन दिऔँ, विकास गरौँ र रोजगारीका अवसर सिर्जना गरौँ।’
उनले युवाहरूलाई राजनीतिमा सक्रिय रूपमा सहभागी गराउनुपर्नेमा जोड दिँदै स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत उम्मेदवार युवा हुनुपर्ने प्रस्ताव अघि सारे। साथै प्रदेश तहमा ३० प्रतिशत र संघीय तहमा २० प्रतिशत उम्मेदवार युवालाई दिनुपर्ने आफ्नो धारणा रहेको बताए।
कोइरालाले नेपाली कांग्रेसले युवाको महत्त्व नबुझेको भन्ने आरोप गलत भएको उल्लेख गर्दै पार्टीले युवाको भूमिकालाई सधैं स्वीकार गर्दै आएको दाबी गरे। ‘युवाहरूको विचार मैले बोकेर हिँडिरहेको छु। यो आजको कुरा होइन, म पाँच–सात वर्षदेखि निरन्तर यही विषय उठाइरहेको छु,’ उनले भने।
प्रकाशित: २२ माघ २०८२ १६:५६ बिहीबार





