२१ फाल्गुन २०८१ बुधबार
image/svg+xml २१:४८ अपराह्न
खेल

जय नेपाल कप क्रिकेट: सेमिफाइनल समीकरण पूरा

जय नेपाल कप अन्तरविश्वविद्यालय टी ट्वान्टी क्रिकेट प्रतियोगितामा आइतबार समूहचरणका खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ।

नेपाल विद्यार्थी संघको आयोजनामा जारी जय नेपाल कप क्रिकेटको समूह ‘ए’ को अन्तिम खेलमा ढाका विश्वविद्यालयले विहार विश्वविद्यालयलाई सात विकेटले हरायो।

यो नतिजापछि ढाका समूहविजेता र त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपविजेता हुँदै सेमिफाइनलमा पुगे। अर्को समूह ‘बी’ मा यसअघि नै सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागिसकेको छ। तीन खेलबाट ढाका अपराजित रहँदै शीर्षमा स्थानमा रह्यो। त्रिविले समान खेलबाट चार अंक बटुल्यो।

त्रिविले एक मात्र हार ढाकासँग बेहोरेको हो। पराजित विहारले चार टोली रहेको यस समूहमा तेस्रो स्थानमा रहेर खेल टुंग्यायो। पूर्वाञ्चल विश्वविद्यालयले तीन खेल नै गुमायो। अर्को समूह ‘बी’ मा मध्यपश्चिम विश्वविद्यालय विजेता र भारतको लखनउ विश्वविद्यालय उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरिसकेका थिए।

अब सेमिफाइनलमा समूह ‘ए’ को विजेता ढाकाले समूह ‘बी’ को उपविजेता लखनउसँग खेल्नेछ। अर्को सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता त्रिविले समूह ‘बी’ को विजेता नेपालकै प्रतिद्वन्द्वी मध्यपश्चिम विश्वविद्यालयसँग खेल्नेछ।

सोमबार हुने पहिलो सेमिफाइनलमा ढाका र लखनउ विश्वविद्यालय तथा दोस्रो सेमिफाइनलमा त्रिवि र मध्यपश्चिम विश्वविद्यालयले प्रतिस्पर्धा गर्ने जय नेपाल टी ट्वान्टी कपका प्रेस संयोजक अधिराज रेग्मीले जानकारी दिए।

लिगको अन्तिम खेलमा ढाकाले विहारमाथि सात विकेटको जित निकाल्दा महफिजुल इस्लामले उत्कृष्ट ब्याटिङ गरे। विहारले दिएको १२८ रनको लक्ष्य ढाकाले १६.५ ओभरमा मात्र तीन विकेट गुमाएर भेट्टायो। ढाकाका ओपनर महफिजुल इस्लामले ७५ रनको अर्धशतकीय इनिङ खेल्दै १९ बलअगावै जित सुरक्षित गराएका हुन्। उनले ६० बलमा ९ चौका र दुई छक्का हिर्काए।

रहमान सिब्लीले ३४ रन जोड्दा ढाकाले अतिरिक्त १७ रन पायो। विहारको बलिङमा विशाल राजले दुई र रोहन कुमारले एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विहार निर्धारित ओभरमा १२७ रन जोड्दा अलआउट भयो।

विहारका लागि छैटौं नम्बरका ब्याटर विशाल राजले सर्वाधिक ४२ रन जोडे। उनले २६ बलमा दुई चौका र तीन छक्का हिर्काए। इमरान हस्मीले २२ रन, अदिल आलमले १९ रन र चन्द्र प्रकाशले ११ रन बनाए।

ढाकाको बलिङमा मोहिद्दुन तारिक र इफ्तखर होसेनले समान दुई तथा मोजिबुर रहमान र असरफुल इस्लामले समान एक विकेट लिँदै विहारको इनिङलाई सस्तैमा रोके।

प्रतियोगितामा नेपाल, भारत र बाङ्लादेशका कुल आठ विश्वविद्यालयले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: १३ माघ २०८१ २१:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App