२१ फाल्गुन २०८१ बुधबार
image/svg+xml २२:१ अपराह्न
खेल

सभापति कप: एनआरटीको जितमा अञ्जन नायक

नेपाली राष्ट्रिय टोलीका स्टार स्ट्राइकर अञ्जन विष्टको दुई गोल प्रेरणामा न्युरोड टिम (एनआरटी) सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

दशरथ रंगशालामा आइतबार भएको क्वार्टरफाइनलमा एनआरटीले ‘ए’ डिभिजन प्रतिद्वन्द्वी फ्रेन्ड्स क्लबलाई ३–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।

यससँगै सेमिफाइनलमा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ। एनआरटीले सेमिफाइनलमा सोमबार आयोजकको टोली नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।

दोस्रो सेमिफाइनलमा संकटा र मच्छिन्द्र क्लबबीच भिडन्त हुनेछ। आइतबार भएको खेलमा एनआरटीले सुरुदेखि दबाब बनाउँदै फ्रेन्ड्सलाई हराएको हो। राष्ट्रिय टोलीबाट सर्वाधिक गोलकर्ता (संयुक्त १३ गोल) समेत रहेका एनआरटीका अञ्जनले दुई गोल गरे।

रिचर्ड विल्सनको नाममा एक गोल रह्यो। फ्रेन्ड्सका विवेक पौडेलले एक गोल फर्काए। अन्तिम १० मिनेट राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा फ्रेन्ड्सले सहजै नतिजा सुम्पियो।

फ्रेन्ड्सका प्रशिक्षक महेश श्रेष्ठले पनि अन्तिम अवसरमा केही अवसर सिर्जना भए पनि सदुपयोग गर्न नसक्दा हार बेहोरेको बताए। एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले आफ्नो खेलाडीले राम्रो खेले पनि छिट्टै तीन गोल गरेपछि खेलमा राम्रोसँग ध्यान नदिएको उल्लेख गरे।

एनआरटीले ४७औं मिनेटभित्र नै तीन गोल गरेको थियो। अन्तिम ९ मिनेट बाँकी छँदा फ्रेन्ड्सले गोल गर्दै खेलमा फर्कने प्रयास गरे पनि सफल भए।

त्यसअघि खेलको १९औं मिनेटमा एनआरटीले पहिलो अवसरमा नै गोल गर्‍यो। अञ्जनको गोलबाट एनआरटीले अग्रता लिएको हो। पेनाल्टी बक्सको लेफ्ट साइडबाट एन्जल महर्जनको क्रसलाई अञ्जनले वान टचमा गोल गरे।

एक मिनेटपछि नै फ्रेन्ड्सका आशिष सुनामले पेनाल्टी बक्सबाटै गरेको प्रहार एनआरटीका गोलकिपर विशाल सुनारले सफल हुन दिएनन्। आशिष चापागाईको पासमा सुनामले एक डिफेन्डरलाई छक्याउँदै गरेको प्रहार विशालले रोके। तर, २४औं मिनेटमा अञ्जनले नै व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीको अग्रता दोब्बर बनाए। कृतीशरत्न छुन्जुले राइट साइडबाट दिएको बललाई अञ्जनले हेडमार्फत जाली चुमाए।

२९औं मिनेटमा फ्रेन्ड्सका सुनामले करिब २५ यार्डबाट गरेको प्रहार बारमाथिबाट बाहिरिन पुग्यो। एनआरटीले ३६औं मिनेटमा तेस्रो गोल गर्ने अवसर गुमायो। अञ्जनको पासमा हेनरी पोकुले पेनाल्टी बक्सबाट गोल गर्न सकेनन्। उनको प्रहार फ्रेन्ड्सका गोलकिपर अभिशेक बरालले पन्च गर्दै असफल बनाए।

यससँगै पहिलो हाफमा एनआरटीले २–० को अग्रता लियो। दोस्रो हाफको सुरुमै एनआरटीले तेस्रो गोल गर्दै फ्रेन्ड्समाथि दबाब बढायो। ४७औं मिनेटमा रिचर्डले एनआरटीको अग्रता ३–० मा पुर्‍याए। करिब ३५ यार्डबाट रिचर्डले बल ड्रिब्लिङ गर्दै एकल प्रयासमा गोल गरेका हुन्।

फ्रेन्ड्सका तीन खेलाडीलाई छक्याएका रिचर्डले पेनाल्टी बक्सबाट दोस्रो बार च्याप्दै बललाई जाली चुमाएका थिए। ५६औं मिनेटमा फ्रेन्ड्सका आशिष चापागाईंले गरेको फ्रिकिक प्रहार सफल भएन।

उनको प्रहार एनआरटीका गोलकिपर विशालले सहजै नियन्त्रणमा लिए। ६४औं मिनेटमा एनआरटीका अञ्जनको ह्याट्रिक गर्ने प्रयास सफल भएन। उनले पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहार फ्रेन्ड्सका गोलकिपर अभिषेकले पन्च गर्दै बाहिर पठाए। लगत्तै एनआरटीका पोकुको हेडर फ्रेन्ड्सका गोलकिपर अभिषेकले पन्च गर्दै अर्को संकट टारे।

७९औं मिनेटमा एनआरटीका एन्जल श्रेष्ठले गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन्। उनको प्रहार लेफ्ट फुटेट सट फ्रेन्ड्सका गोलकिपर अभिषेकले नै रोके। ७९औं मिनेटमा फ्रेन्ड्सका विवेकले गर्दै गोलअन्तर ३–१ मा छोट्याए। डोकु इजरायलको थ्रु बललाई विवेकले एनआरटीका नरेन चौधरीलाई छक्याउँदै गोल गरेका हुन्। यो गोलपछि फ्रेन्ड्सले खेलमा फर्कने प्रयास गर्‍यो। तर, पाएका अवसर सदुपयोग गर्न नसक्दा सफल भएन।

८७औं मिनेटमा फ्रेन्ड्सका विक्रान्त नरसिंह राणाले गोल गर्ने अवसर खेर फाले। आशिष चापागाईंले लेफ्ट साइडबाट दिएको बललाई पेनाल्टी बक्समा अनमार्क विक्रान्त हेडमार्फत गोल गर्न असफल भए।

अतिरिक्त समयमा फ्रेन्ड्सका दीपेश घलेले पनि एनआरटीका गोलकिपर विशालसँग वान भर्सेस वानको अवस्थामा गोल गर्ने अवसर गुमाए। त्यससँगै थप गोल भएन र एनआरटीले सहज जित निकाल्यो।

प्रकाशित: १३ माघ २०८१ २०:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App