उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको आयोजनामा आइतबार भएको आठ किलोमिटर खुल्ला पुरुषतर्फको दौडमा केन्याली धावक जुलियस मौरिकी च्याम्पियन बनेका छन् । इटहरीमा भएको दौडको निर्धारित दुरी मौरीकीले २४ मिनेट २५ सेकेण्डमा पुरा गरेर च्याम्पियन बनेका हुन् ।
दौडमा सरोज लिम्बुले २५ मिनेट ३१ सेकेण्डमा निर्धारित दुरी पार गरेर दोस्रो भए भने ओशन राईले २६ मिनेट ५ सेकेण्डमा दुरी पुरा गर्दै तेस्रो भए । यस्तै, महिलातर्फ इन्द्रकला नेम्वाङ प्रथम भइन् । यसै गरी, जुही राई दोस्रो तथा सकुन्तला राई तेस्रो भइन । इन्द्रकलाले निर्धारित दुरी ३१ मिनेट ३ सेकेण्ड, जुहीले ३२ मिनेट ३५ सेकेण्ड र सकुन्तलाले ३३ मिनेट ३१ सेकेण्डमा पुरा गरेका थिए । प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १२ हजार, १० हजार र आठ हजार रुपैयाँ नगद पुरस्कार पाए ।
सेकेण्डरी समूह अन्तर्गत पाँच किलोमिटर दुरीमा कालुमान राई प्रथम, अमर यादव दोस्रो भए । यस्तै, तेस्रो स्थानमा प्रटेस्ट परेकाले छानबिन भइरहेको जनाइएको छ । महिला तर्फको प्रथम स्थानमा पनि प्रोटेस्ट परेकाले घोषणा हुन नसकेको कार्यक्रम संयोजक सुवास लुइँटेलले जानकारी दिए । उक्त समुहमा बिनिता राई दोस्रो र तिर्सना राई तेस्रो भइन । प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार, सात हजार र पाँच हजार पुरस्कार पाए ।
प्राइमरी समूहको तीन किलोमिटर पुरुष तर्फ प्रथम स्थानका लागि प्रोटेस्ट परेको छ । सो समुहमा रोमन माझी दोस्रो र मनिष लिम्बु तेस्रो भए । महिलातर्फ रेस्मा दर्जी प्रथम, राधा माझी दोस्रो र करिना राई तेस्रो भए । उनीहरुले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा केही विदेशी सहित नेपालका विभिन्न जिल्लाका आठ सय बढीले प्रतिस्पर्धा गरेका थिए ।
प्रकाशित: १३ माघ २०८१ १७:३१ आइतबार