नेपाल आर्मीका सबिन कार्कीले ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित पाँच किलोमिटर दौडको उपाधि जितेका छन्। भन्सार विभाग त्रिपुरेश्वरमा शनिबार सम्पन्न दौडमा आर्मीकै प्रतिद्वन्द्वीलाई पछि पार्दै सबिन च्याम्पियन भएका हुन्।
प्रतियोगिता त्रिवि भन्सार कार्यालय, नेपाल भन्सार एजेन्ट संघ काठमाडौं, नेपाल फ्रेट फरवाडरर्स एसोसिएसन, नेपाल निर्यात परिषद् काठमाडौं र नेपाल कुरियर सेवा संघको संयुक्त आयोजनामा भएको हो।

उक्त दौड १९.१३ मिनेटमा पार गर्दै सबिन च्याम्पियन भए। आर्मीका धनबहादुर शाहीले १९.१८ मिनेट समय लगाए। सशस्त्र प्रहरी बलका मीनबहादुर बस्नेत तेस्रो भए। उनले २०.२१ मिनेटमा दूरी पार गरे।
उक्त दौड भन्सार विभाग त्रिपुरेश्वरबाट सुरु भई थापाथली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै त्रिवि भन्सार कार्यालयसम्म आएर टुङ्गिएको थियो।
नेपाल पुलिस, आर्मी, एपिएफ, भन्सार कर्मचारी, भन्सार एजेन्ट, पारवहन, गोदाम व्यवस्थापन समिति, लागु औषध ब्युरो, नेपाल फ्रेट फरवार्डरस एसोसिएसनसहित कुल दुई सय जनाले दौडमा प्रतिस्पर्धा गरेको भन्सार एजेन्ट महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले जानकारी दिए।

विजेतालाई जनवरी २६ को अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा त्रिवि भन्सार कार्यालयमा हुने विशेष समारोहमा पुरस्कृत गरिनेछ।
शीर्ष तीन स्थानमा रहेका खेलाडीले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले दौडको उद्घाटन गरेका थिए।
प्रकाशित: १२ माघ २०८१ १७:२६ शनिबार