खराब ब्याटिङ लयबाट गुज्रिरहेका भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा १० वर्षपछि रणजी ट्रफी खेल्ने भएका छन्। फेब्रुअरी १९ बाट हुन लागेको आइसिसी च्याम्पियन्स ट्रफीअघि ब्याटिङ लयको खोजी गर्न रोहित रणजी ट्रफी खेल्न लागेका हुन् ।
उनको घरेलु टिम मुम्बईबाट रणजी ट्रफी खेल्नका लागि रोहितको नाम समावेश भएको छ। अजिक्या रहाणेको कप्तानीमा मुम्बईका लागि रोहितले रणजी ट्रफी खेल्ने तय भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
रोहितले अन्तिम रणजी ट्रफी खेल सन् २०१५ मा उत्तर प्रदेशविरुद्ध खेलेका थिए।
पछिल्लो समय अस्ट्रेलियामा सम्पन्न बोर्डर गावस्कर ट्रफीमा रोहित र विराट कोहलीको निकै खराब प्रदर्शन देखिएको थियो। जसमा दुवै जनाको चर्को आलोचना भएको थियो । उनीहरूमाथि आलोचकले सन्यास लिएर नयाँ खेलाडीलाई अवसर दिनुपर्ने भन्दै दबाब समेत दिएका थिए ।
रोहितले पनि आफू खराब ब्याटिङ लयबाट गुज्रिरहेको स्वीकार गरेका थिए। तर, तत्कालै सन्यास लिने विषयमा भने आक्रोशित जवाफ फर्काएका थिए । खेलकै दौरानमा दिएको एक अन्तर्वार्तामा रोहितले आफू २ बच्चाको बाबु रहेको बताउँदै राम्रो÷नराम्रो र आफू खेल्ने÷नखेल्ने र सन्यास लिने÷नलिनेबारे निर्णय गर्नसक्नेगरी परिपक्व रहेको भनेका थिए।
त्यसपछि भर्खरै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बिसिसिआई)ले च्याम्पियन्स ट्रफीका लागि रोहितकै कप्तानीमा टिमको घोषणा गरेको थियो। टिम घोषणा गरे लगत्तै रोहितले आफू त्यसअघि रणजी ट्रफी खेल्ने घोषणा गरेका थिए।
रणजी ट्रफीलाई भारतमा क्रिकेटरलाई माझ्ने र परिपक्व बनाउने प्रतियोगिताका रूपमा लिइन्छ। टेस्ट क्रिकेट शैलीमा खेलाइने यो प्रतियोगिता लोकप्रिय र भारतीय क्रिकेटको मेरुदण्ड पनि मानिन्छ। यही खेलेर आफूलाई प्रमाणित गरेका खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि राष्ट्रिय टिममा छनोट हुन्छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट स्टारहरू आफू खराब लयमा हुँदा रणजी ट्रफी खेलेर आफूलाई प्रमाणित गर्दै पुनः लयमा फर्किने कोसिस गर्दछन्।
प्रकाशित: ७ माघ २०८१ १९:३२ सोमबार