६ माघ २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल कबड्डी लिग: जनकपुर र विराटनगर विजयी

जनकपुर नाइट्स र विराटनगर ब्यान्डिट्सले नेपाल कबड्डी लिग (एनकेएल) को आफ्नो पहिलो खेलमा जित निकालेका छन्।

शनिबार भएको पहिलो खेलमा विराटनगरले धनगढी वाइल्ड क्याट र दोस्रो खेलमा जनकपुर नाइट्सले हिमालयन रेडर्सलाई हराउँदै एनकेएलमा सुखद सुरुआत गरेका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा कल्याण भुजेलको कप्तानीमा रहेको विराटनगरले धनगढी वाइल्ड क्याटमाथि ४६–३४ को जित निकाल्यो। धनगढीका कप्तान पदमबहादुर विष्ट हुन्।

अर्को खेलमा रामु टमटाको कप्तानीमा रहेको जनकपुरले हिमालयनलाई ३५–२४ ले पराजित गर्‍यो। हिमालयनको कप्तान गणेश पार्की हुन्। यससँगै जारी एनकेएलको पहिलो संस्करणमा पहिलो चरणका खेल पूरा भएको छ।

सहभागी ६ वटै फ्रेन्चाइज टोलीले पहिलो खेल पूरा गरेका हुन्। यसअघि शुक्रबार भएको उद्घाटन खेलमा काठमान्डु माभरिक्सले पोखरा लेकर्समाथि ४२–४१ रोमाञ्चक जित निकालेको थियो। शनिबार विराटनगर र जनकपुरले पनि सुखद सुरुआत गरे। विराटनगर सुरुदेखि नै धनगढीमाथि हाबी भयो।

पहिलो हाफ विराटनगरको पक्षमा २४–१६ ले रह्यो। रेडबाट ११ अंक बटुल्दै विराटनगर हाबी भएको हो। यो हाफमा विराटनगरले धनगढीलाई दुई पल्ट अलआउट गरेको थियो। धनगढीविरुद्ध ट्याकलमा पनि विराटनगर हाबी रह्यो। दोस्रो हाफमा सुधार गर्ने प्रयास गरे पनि धनगढीले २२–१८ ले नतिजा सुम्पियो।

दोस्रो हाफमा पनि विराटनगर रेड र ट्याकलमा अब्बल देखियो। विराटनगरले रेड र ट्याकलबाट समान १० अंक बटुल्यो। विराटनगरको जितमा थाइल्यान्डका रेडर नोफाडन पोन्टाइसङ म्यान अफ द म्याच भए। समान एक खेलबाट काठमान्डु, विराटनगर र जनकपुरले समान पाँच अंक बटुले।

धनगढी र हिमालयन अंकविहीन छन्। पहिलो खेलमा पराजित भए पनि पोखराको एक अंक छ। शनिबार जनकपुर हिमालयनमाथि दुवै हाफमा हाबी रह्यो। जनकपुरले पहिलो हाफमा १८–११ र दोस्रो हाफमा १७–१३ ले अग्रता बनाएको थियो। ट्याकलमा जनकपुरले सर्वाधिक १६ अंक जोड्यो।

जनकपुरको जितमा थाई खेलाडी चायाफोन कामुनी म्यान अफ द म्याच भए। नेपालमा पहिलोपल्ट सुरु भएको कबड्डीको फ्रेन्चाइज लिगमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु, पोखरा, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गर्दैछन्।

लिगको शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउनेछ। थाइल्यान्ड र बंगलादेशको समान ६, केन्या र श्रीलंकाको समान तीन गरी कुल १८ विदेशी र ६६ नेपाली खेलाडीले एनकेएल खेल्दैछन्। प्रत्येक टिममा १४ खेलाडी छन्। हरेक टिमले कम्तीमा दुईदेखि ४ जना विदेशी खेलाडी लिएका छन्। 

प्रकाशित: ६ माघ २०८१ ०९:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App