२९ पुस २०८१ सोमबार
image/svg+xml
खेल

स्ट्रिट डिफेन्सको स्वर्णमा नेपालद्वारा क्लिन स्विप

नेपालले घरेलु मैदानमा सम्पन्न प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिताको स्वर्णमा आइतबार क्लिन स्विप गरेको छ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न प्रतियोगितामा नेपाल सातै स्पर्धामा स्वर्ण जित्दै क्लिन स्विप गर्न सफल भएको हो। नेपाल जितकुन्डो मार्सल आर्ट्स संघद्वारा आयोजित प्रतियोगितामा नेपालले थप पाँच रजत र चार कांस्य पदक पनि हात पार्‍यो। भारत र श्रीलंकाले समान एक रजत र कांस्य जिते।

हरेक तौलसमूहमा घरेलु टोलीका तीन खेलाडीको चुनौती रहेको थियो। पुरुष ५५ केजी तौलसमूहमा विजय थापाले स्वर्ण जिते। उनले फाइनलमा नेपालकै नितेश कठायतलाई हराए। पुरुष ६० केजीमुनि नरेन्द्र दनुवार पहिलो भए। उनले फाइनलमा नेपालकै अल्ताप दनुवारलाई पराजित गरे। नेपालका अमित थापा तेस्रो भए।

पुरुष ६५ केजीमा सञ्जीव माझीले फाइनलमा घरेलु प्रतिद्वन्द्वी भीष्म तामाङलाई हराउँदै स्वर्ण चुमे। सुसाङ चौधरी तेस्रो बने। पुरुष ७० केजीमुनि सुमन तामाङले स्वर्ण जित्दा फाइनलमा श्रीलंकाका रकिन्डु प्रेमन चन्द्रालाई पन्छाए।

भारतका मोनिस तेस्रो भए। पुरुष ७० केजीमाथि पीताम्बर मगरले स्वर्ण जिते। उनले फाइनलमा भारतका प्रियाडमाथि जित निकाले। श्रीलंकाका कसुन हर्षल तेस्रो स्थानमा रहे। महिला ५५ केजीमुनि नीलम कोइरालाले फाइनलमा घरेलु प्रतिद्वन्द्वी सारिका नेपालीको चुनौती पन्छाउँदै स्वर्ण चुमिन्। जमुना दनुवार तेस्रो भइन्।

महिला ७० केजीमाथि उर्मिला दनुवारले स्वर्ण जितिन्। उर्मिलाले फाइनलमा नेपालकै जमुना विकलाई हराइन्। ममता शर्मा तेस्रो भइन्। शीर्ष तीन स्थानका खेलाडीले क्रमशः २३ हजार पाँच सय, पाँच हजार पाँच सय र तीन हजार ५ सय नगद पुरस्कार प्राप्त गरे।

विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखा नगरपालिका–४ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, नेपाल जितकुन्डो मार्सल आर्ट्स संघका अध्यक्ष रामबहादुर ठकुरी र महासचिव शिवबहादुर थापा एवं टेड वाङ जितकुन्डोका अन्तर्राष्ट्रिय प्रशिक्षक स्पेनका ज्याक्विन मार्सेलो लगायतले पुरस्कृत गरे।  

प्रकाशित: २९ पुस २०८१ ०८:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App