२६ पुस २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्वकप खेल्ने नेपाली युवा टोलीको बिदाई, पहिलो खेल माघ ५ गते बंगलादेशसँग खेल्ने

मलेसियामा अर्को साता सुरु हुने आइसिसी यू-१९ महिला विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाई गरिएको छ ।  

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार एक विशेष समारोहको आयोजना गरी उनीहरुको बिदाई गरेको हो ।  बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, क्यानका पदाधिकारीसहितको उपस्थिति थियो ।  

टोली पूजा महतोको कप्तानीमा रहेको छ । क्यानले गत शनिवारमात्र पूजाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको थियो । टोलीमा गत महिना मलेसियामा सम्पन्न एसिया कप खेलेका सबै खेलाडीलाई निरन्तरता दिइएको छ ।  

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को आयोजनामा यू-१९ महिला विश्वकप माघ ५ गते सुरु हुनेछ । विश्वकपको दोस्रो संस्करणमा नेपाल सहित १६ टोली सहभागी हुनेछन् ।  

पहिलो पटक विश्वकपका लागि छनोट भएको नेपालले माघ ५ गते बंगलादेशविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग र समूह चरणको आफ्नो अन्तिम खेलमा माघ ९ गते अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।  

सो अघि नेपालले वेस्ट इन्डिज र अमेरिकासँग दुईवटा अभ्यास खेल खेल्नेछ ।  

विश्व कपमा नेपाल समूह ‘डी’ मा बंगलादेश, अस्ट्रेलिया र स्कटल्याण्डसँग रहेको छ ।  

समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इण्डिज, समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सि’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया रहेका छन् ।

समूह चरणको खेलमा शीर्ष ३ मा रहन सकेमा नेपाल सुपर सिक्सका लागि छनोट हुनेछ । सुपर सिक्सका दुवै ग्रुपका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् ।

  नेपाली युवा टोली

पूजा महतो (कप्तान), सोनी पाख्रिन, किरन कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत।

प्रकाशित: २६ पुस २०८१ १४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App