२४ पुस २०८१ बुधबार
image/svg+xml
खेल

अस्ट्रेलियाविरुद्धको पाँचौँ टेस्टमा भारतको खराब प्रदर्शन, पहिलो दिन ११ विकेट झर्यो

अस्ट्रेलियाविरुद्धको पाँचौँ तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले खराब सुरुवात गरेको छ।  

सिड्नीमा पहिलो दिन ११ विकेट झरेको खेलमा भारत पहिलो इनिङ्समा मात्र १८५ रनमा अलआउट भयो। रिसब पन्तले सर्वाधिक ४० रन बनाएको भारतको इनिङ्समा रविन्द्र जडेजाले २६ र क्याप्टेन जस्प्रित बुमराहले २२ रन बनाए। अस्ट्रेलियन बलरले २६ रन अतिरिक्त दिएका थिए।  

भारतलाई सस्तैमा अलआउट गर्ने क्रममा स्कट बोलान्डले ४ विकेट झारे। मिचेल स्टार्सको नाममा ३ विकेट रह्यो। प्याट क्युमिन्सले २ र नाथन लियोनले एक विकेट आफ्नो नाममा लेखाए।  

पहिलो दिन नै आफ्नो पहिलो इनिङ्स थालेको घरेलु टोली अस्ट्रेलियाले दिनको समाप्तिमा एक विकेट गुमाएर ९ रन बनाएको छ। उस्मान खवाजा २ रनमा बुमराहको बलमा लोकेश राहुलद्वारा क्याच आउट भए।  

पाँच खेलको शृंखलामा अस्ट्रेलिया २-१ ले अघि छ। पहिलो खेलमा २९५ रनले विजयी भएपनि सोपछि भने भारतले लय गुमाएको हो। दोस्रो खेलमा १० विकेटले विजयी भएको अस्ट्रेलियाले चौथो खेलमा १८४ रनले बाजी मारेको थियो। वर्षाले प्रभावित तेस्रो खेल भने बराबरीमा सकिएको थियो।  

आईसीसी वर्ल्ड च्याम्पियनको फाइनलमा स्थान बनाउन भारत र अस्ट्रेलिया संघर्ष गरिरहेका छन्। शुक्रबार सुरु पाँचौ टेस्टमा जित निकाल्न सके अस्ट्रेलिया च्याम्पियनसिपको फाइनलमा पुग्नेछ। साउथ अफ्रिकाले यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ।

प्रकाशित: १९ पुस २०८१ १३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App