११ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

महिला यू–१९ विश्वकप : नेपालको बन्द प्रशिक्षण चितवनमा सुरु

महिला यू–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण चितवनमा सुरु भएको छ । । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा बुधबारदेखि बन्द प्रशिक्षण सुरु भएको हो ।  

आगामी जनवरीमा महिला यू–१९ विश्वकप मलेसियामा हुँदैछ । त्यसको तयारी स्वरुप चितवनमा पुस २२ गतेसम्म बन्द प्रशिक्षण जारी रहने महिला यु–१९का प्रमुख प्रशिक्षक महेश प्रसाद रिजालले जानकारी दिए । बन्द प्रशिक्षणमा ब्याटिङ, बलिङ, फिटनेशलाई ध्यान दिने बताए । चितवनमा बन्द प्रशिक्षण गर्न पाउँदा आफुहरु उत्साहित भएको समेत उनले बताए । ‘हामीले क्रिकेटमा धेरै सुधार गर्नुपर्ने छ । हाम्रा प्रतिद्वन्द्वी टिम क्रिकेटका क्षेत्रमा स्थापित टोली छन्,’ उनले भने ‘चुनौती पूर्ण खेल प्रद्र्धशन गर्न हामीलाई चुनौती छ । त्यसका लागि यहाँ सम्पूर्ण तयारी गर्दछौँ ।’

नेपाल क्रिकेट टोलीका व्यवस्थापक विनोद दासले चितवनको क्रिकेट मैदान अन्तराष्ट्रिय स्तरको रहेको बताए । अहिले प्रशिक्षण भइरहेको मैदान प्रशिक्षणका लागि उपयुक्त नै रहेको उनको भनाई छ । प्रशिक्षणका लागि क्रिकेटसंघले आगामी दिनमा नेट जालि सहितको अभ्यासस्थल बनाउनुपर्ने बताए । ‘मैदानको अवस्थाको बारेमा जानकारी लिन आएको हुँ । अहिले हेर्दा प्रशिक्षणका लागि अन्य स्थानभन्दा उपयुक्त ठाउँ छ,’ दासले भने ‘केही अपुग कुरालाई क्रिकेटसंघले व्यवस्थापन गर्नुपर्दछ ।’  

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली क्रिकेट टोली चितवन आएर अभ्यास गर्नु महानगरपालिकाका लागि गौरवको विषय भएको बताएकी छिन् । खेलाडीलाई स्वागत गर्दै मेयर दाहालले यहाँ भएको अभ्यास खेलबाट खेलाडिलाई थप उर्जा मिल्ने अपेक्षा समेत राखेकी छिन् । उनले विश्वकपमा विजयीको शुभकामना दिँदै महानगरपालिकाले बन्द प्रशिक्षणका लागि आवश्यक सहयोग गर्न तयार रहेको समेत बताइन् । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला दुई बर्षभित्र बनाई छाड्ने बताइन् । भरतपुरले निकै मेहनतका साथ क्रिकेट रंगशाला बनाउन लागेको भन्दै आगामी वर्ष हुने महिला यु–१९ विश्वकप चितवनमा गर्नुपर्ने धारणा समेत राखिन् ।  

नेपाल क्रिकेट संघका उपध्यक्ष रोशन सिंहले भरतपुर महानगरपालिकाको पहल र क्यानका अध्यक्षको समन्वयमा चितवनमा बन्द प्रशिक्षण गर्न लागिएको बताए । उनले सन् २०२७मा नेपालमा हुने महिला यू–१९ विश्वकप निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गर्न क्यान सकारात्मक रहेको समेत बताएका छन् ।  

बन्द प्रशिक्षणमा सहभागी हुने १८ जना खेलाडी सहितको टोली रहेको छ । चितवन क्रिकेट सघका अध्यक्ष सुदीप पियाले प्रशिक्षणका लागि महिला यु–१९ क्रिकेटको टोली चितवन आउनु यहाँको क्रिकेटको विकासका लागि धेरै सहयोग पुग्ने विश्वास लिएका छन् ।  

यहाँको बन्द प्रशिक्षण सकिए लगतै नेपाली टोली प्रतियोगिताका लागि जनवरी ११मा मलेसिया प्रस्थान गर्नेछ । नेपाली टोलीले जनवरी १८, २० र २२ तारिकमा क्रमशः बंगलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासंग प्रतिसप्रर्धा गर्दैछ ।  

प्रकाशित: १० पुस २०८१ १७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App