अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘बी’ डिभिजन लिगका नौ क्लबबीचको विवाद अन्ततः सुल्झिएको छ। अब लिग आगामी फागुन २५ गतेबाट सुरु हुने निश्चित भएको छ। पछिल्लोपटक २०७८ सालमा फागुनदेखि चैतसम्म यो लिग भएको थियो। २०८० चैत २५ गतेबाट अर्को संस्करण सुरु गर्ने घोषणा गरिए पनि दुई पटक मिति सारेर एन्फाले आफूखुसी रद्द गर्दा लिग अन्योलमा परेको थियो। तर, साढे तीन वर्षपछि एन्फाले लिगको नयाँ मिति तय गरे पनि क्लबहरू क्षतिपूर्तिको माग गर्दै टिम दर्तामा जान असहमत भएका थिए।
बिहीबार एन्फा महासचिव किरण राई, प्रवक्ता सुरेश शाह, सचिवालय र असन्तुष्ट क्लब प्रतिनिधिबीच बसेको बैठकपछि सहमति जुटेको सरस्वती क्लबका अध्यक्ष उत्तमराज भण्डारीले जानकारी दिए। ‘संस्थाको गरिमा बचाउन र लिग अघि बढाउन हामीले टिम दर्ता गराउने निर्णय गरेका छौं। भोलिदेखि एन्फाले सहमति कार्यान्वयन गर्ने र क्लबले आइतबारसम्म टिम दर्ता सम्पन्न गर्ने सहमति भएको छ,’ उनले भने। एन्फाले क्लबलाई केही आर्थिक क्षतिपूर्ति दिने र लिग मिति पर सार्ने विषयमा सहमति भएको छ। माघ १३ गतेदेखि हुने भनिएको लिग अब फागुन २५ गतेदेखि सुरु हुनेछ। २०७८ मा सिंगल राउन्ड रोबिन ढाँचामा सम्पन्न लिगबाट चर्च बोइज युनाइटेड र खुमलटार एफसी शीर्ष डिभिजनमा पुगेका थिए। चर्च बोइज दुई वर्षपछि ‘ए’ डिभिजनको विजेता बने पनि खुमलटार रेलिगेसनमा परेको थियो।
नयाँ लिगको तयारीका लागि एन्फाले मंसिर २१ सम्म क्लबहरूलाई टिम दर्ता गर्न सूचित गरेको थियो। तर, सो समयसीमामा झापा फुटबल क्लब, बाँसबारी क्लब, प्लानिङ बोइज युनाइटेड क्लब, श्री भगवती क्लब र श्री कुमारी क्बलले मात्रै टिम दर्ता गरे। एन्फाले दुईपल्ट समय थप दिँदा पनि टिम दर्ता नगरे क्लबलाई ‘सी’ डिभिजनमा झार्ने र पाँच लाख रुपैयाँ जरिवाना गर्ने चेतावनी दिएको थियो। क्लबहरूले अडान नछोडेपछि विवाद समाधानका लागि एन्फा बैठक बस्न राजी भयो। अब रानीपोखरी कर्नर टिम (आरसिटी), बिग्रेड बोइज क्लब, मध्यपुर युथ एसोसिएसन, नयाँ बस्ती क्लब, वीरगन्ज युनाइटेड, सरस्वती युवा क्लब, टुसाल क्लब र बोइज युनियनसहितका क्लबले टिम दर्ता गर्नेछन्। नयाँ मितिमा लिग सञ्चालन हुने भएपछि ‘बी’ डिभिजनले तीन वर्षपछि निरन्तरता पाउनेछ।
प्रकाशित: ५ पुस २०८१ ०७:२३ शुक्रबार