प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट रंगशालामा फ्लडलाइट र प्यारापिट निर्माणको काम निर्धारित समयमै सकिने बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले आज यसको निर्माणका लागि बोलपत्र आह्वान भएको र यसको निर्माण कार्य समयमै सकिने बताएका हुन्।
'क्रिकेट हाम्रो युवा समाजको प्राण हो । क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रङ्गशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौँ। यसको लागि पर्याप्त ध्यान दिएर सुरुमै पारस खड्का सहित क्रिकेट खेलाडीहरूलाई बालुवाटार बोलाएर छलफल पनि गर्यौँ', उनले भनेका छन्, 'त्यसबेला क्यानका पदाधिकारीहरूले पनि बरु अलि समय दिएरै विश्वस्तको रङ्गशालाको राम्रो डिजाइन गरौँ, हतार नगरौँ भन्ने सल्लाह दिनु भएको थियो। जग्गा प्राप्ति लगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचे भन्दा बढी समय लाग्यो। त्यसले प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ अवश्य भयो।'
ओलीले समयमै काम सकाउनका लागि तीन सिफ्टमा काम गरिने पनि बताएका छन्। उनले भनेका छन्,'आज यसको निर्माणका लागि बोलपत्र आह्वान भएको छ। अब हामीले तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नु पर्ने छ। यसलाई विश्वस्तको बनाउने प्लान भने त्यसपछि पनि जारी रहने छ। काम छिटो सक्न र आवश्यक सुझाव तथा खबरदारी गर्न सबैलाई अनुरोध गर्छु।'
प्रकाशित: ५ पुस २०८१ १२:१० शुक्रबार