३० मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

आरिफको उत्कृष्ट प्रदर्शन, सुदूरपश्चिमले पोखरालाई दियो १५४ रनको लक्ष्य

तस्बिर: एनपिएल।

आरिफ शेखको उत्कृष्ट प्रदर्शनले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोल्यसले पोखरा एभेन्जर्सलाई १५४ रनको चुनौती प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस गुमाएर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १५३ रनको स्कोर खडा गर्‍यो।

ओपनर सैफ जैबलाई रेमन रेइफरले मात्र ९ रनमै बोल्ड गरे। अर्का ओपनर विनोद भण्डारीले १६ बलमा एक चौका र एक छक्कासहित १४ रन बनाएर पवेलियन फर्किए।

यसपछि पनि सुदूरपश्चिमका ब्याटरहरूको विकेट पतन जारी रह्यो। ब्रान्डन म्याकमुलनले २३ रनको योगदान दिए भने हर्मित सिंह १३ रनमै आउट भए।

यद्यपि, पाँचौं विकेटका लागि कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले ४१ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई केही स्थिरता प्रदान गरे।

दीपेन्द्रले १६ बलमा एक चौकासहित २० रन बनाए। ईशान पाण्डे १० रन बनाएर रिटायर्ड आउट हुँदा आरिफ शेख ३८ बलमा ४२ रनको उत्कृष्ट पारी खेल्दै अविजित रहे। नरेश बूढाऐर ६ रनमा अविजित रहँदा, आरिफले दुई चौका र एक छक्का हानेर इनिङलाई प्रभावशाली बनाए।

बलिङतर्फ पोखराका कप्तान कुशल भुर्तेलले चार ओभरमा २७ रन खर्चिएर दुई विकेट लिए। रेमन रेइफर, सागर ढकाल र माइकल लिस्कले समान एक–एक विकेट हात पारे।

यस खेलमा सुदूरपश्चिमको मध्यम प्रदर्शनले पोखरालाई जितका लागि १५४ रनको लक्ष्य दिएको छ।

प्रकाशित: ३० मंसिर २०८१ १४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App