साबिक विजेता गेटवे एकेडेमीले १७औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ। मूलपानी मैदानमा भएको उद्घाटन खेलमा गेटवेले हाइल्यान्डलाई ६–१ गोले पराजित गरेको हो। गेटवेका प्रदीप खत्री ‘म्यान अफ द म्याच’ घोषित भए।
प्रतियोगिताको प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाले एक कार्यक्रमबीच उद्घाटन गरे। नकआउट प्रतियोगितामा २५ टोली सहभागी छन्। प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले क्रमशः ३० हजार, २० हजार, १० हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ। प्रतियोगिताअन्तर्गत शनिबार चार खेल हुने फेकाका सहसचिव एवं प्रतियोगिता संयोजक राजु दाहालले जानकारी गराए। न्यु स्टार पोल र विद्या विकास, गोठाटार र उज्ज्वल तारा, एकलब्य र कोटदेवी तथा कस्मिक र एप्पल भिड्नेछन्। फाइनल पुस ६ गते हुनेछ।
प्रकाशित: २९ मंसिर २०८१ १०:३४ शनिबार





