हेल्प नेपाल स्पोटर्स क्लब र भारतको क्यालिकट हिराजबीच काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि भिडन्त हुने भएको छ।
शुक्रबार सम्पन्न सेमिफाइनलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसी र क्यालिकट हिरोजले इरानको य–१८ टोलीलाई हराउँदै उपाधि भिडन्त तय गरेका हुन्। यी दुईबीच शनिबार नै उपाधि भिडन्त हुनेछ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा क्यालिकटले इरानी युवा टोलीमाथि ३–१ को सेटमा जित निकाल्दै उपाधि यात्रा तय गरेको हो। यससँगै इरानी टोलीले जारी च्याम्पियनसिपमा पहिलो हार बेहोर्यो। यसअघि लिगचरणमा भने इरानी युवा टोलीले ३–२ को सेटमा जित निकालेको थियो। सेमिफाइनलमा भने क्यालिकट हाबी भयो।
क्यालिकटले पहिलो सेट २५–२१ ले गुमायो। तर, त्यसपछि उत्कृष्ट पुनरागमन गर्यो। क्यालिकटले दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२० ले आफ्नो बनायो। तर, चौथो सेट भने रोमाञ्चक बन्यो।
यो सेट पनि क्यालिकटले २६–२४ ले आफ्नो बनाउँदै फाइनलमा स्थान बनायो। यस सेटमा एक समय २३–२३ को बराबरी जोगाउन नसक्दा इरानी टोली खेल लम्ब्याउन सफल भएन। दोस्रो सेमिफाइनलमा भने हेल्प नेपालले ३–० को सोझो सेटमा जित निकाल्दै क्यालिकटसँग उपाधि भिडन्त पक्का गर्यो। यसअघि लिगचरणमा हेल्प नेपालले क्लब एचडिसीमाथि ३–१ को नतिजा निकालेको थियो।
सेमिफाइनलमा भने हेल्प नेपालले माल्दिभ्सको प्रतिद्वन्द्वीविरुद्ध सुधारिएको प्रदर्शन गर्यो। हेल्प नेपालले पहिलो दुई सेट २५–१६ र २५–१८ ले सहजै आफ्नो बनायो। तर, तेस्रो सेटमा क्लब एचडिसीले चुनौती दियो। यद्यपि, यो सेट पनि हेल्प नेपालले २५–२१ ले आफ्नो बनायो।
पाँच टोली सहभागी च्याम्पिनयनसिपमा शतप्रतिशत जितसहित १० अंक जोड्दै इरानी टोलीले सेमिफाइनलमा स्थान बनाएको थियो। तर, सेमिफाइनलमा भने इरानी टोलीले आफ्नो लय जारी राख्न सकेन। समान चार खेलबाट हेल्प नेपालको आठ अंक र क्यालिकटको सात अंक थियो।
यससँगै सेमिफाइनलमा शीर्ष स्थानको इरानले तेस्रो स्थानको क्यालिकटसँग तथा दोस्रो स्थानको नेपालले चौथो स्थानको माल्दिभ्सको क्लब एचडिसीसँग खेलेका हुन्। नेपालका दुई टोलीसहित चार राष्ट्रका पाँच क्लबले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए। क्लब एचडिसीले चार खेलबाट तीन अंक जोडेको छ। गण्डकी भने समान खेलबाट दुई अंकसहित पुछारमा रहेको थियो।
आठौं प्रधानमन्त्री कपका शीर्ष दुई टोलीका रूपमा हेल्प नेपाल र गण्डकीले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका हुन्।
प्रकाशित: २९ मंसिर २०८१ १०:०८ शनिबार





