१९ पुस २०८२ शनिबार
image/svg+xml
खेल

उपाधि होड खुला

ललित स्मृति एन्फा यु–१८ लिगमा अब ११ टोलीले समान पाँच चरण बाँकी रहँदा उपाधि होड खुकुलो भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार विभागीय टोली नेपाल पुलिस क्लबले खुमलटारलाई ३–१ ले हराएसँगै लिगको १७औं चरण समाप्त भएको हो।

जितसँगै पुलिस ३६ अंकसहित शीर्ष स्थानमा छ। पुलिसले दोस्रो स्थानको संकटा फुटबल क्लबसँग तीन अंकको दूरी बनाएको छ। यस्तै, न्युरोड टिम (एनआरटी) को ३२, थ्री स्टारको ३० र अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) को २९ अंक छ।

पुलिसको ११औं जितमा कप्तान सुवास बमले दुई गोल गरे। खेलको सुरुआती समयदेखि नै पुलिस लिगको अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको खुमलटारमाथि हाबी भएको थियो। फलतः १६औं मिनेटमा रञ्जित लामाले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाए।

 त्यसको तीन मिनेटपछि नै सुवासले अर्को गोल थप्दा पुलिसले पहिलो हाफमा २–० को अग्रता कायम गरेको थियो। तर, दोस्रो हाफमा लक्ष्मण थामी र जोन विष्टले रातो कार्ड पाएपछि पुलिस नौ खेलाडीमा समेटियो।

अर्कोतर्फ खुमलटारका अभिषेक लामाले पनि रातो कार्ड पाए। त्यसको फाइदा उठाउँलै डेबिड लामाले खुमलटारलाई २–१ को स्थितिमा ल्याएका थिए। तर, त्यसपछि खुमलटारले थप अवसर सिर्जना गर्न सकेन। यद्यपि, निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा सुवासले नै अर्को गोल थपे। उनले पेनाल्टीबाट गोल गरेसँगै पुलिसले ३–१ को जित दिलाए। प्रतियोगिताबाट बाहिरिइसकेको खुमलटारको यो १२औं हार हो। १७ खेलमा तीन जित र दुई बराबरी खेलेको खुमलटारको ११ अंक छ।

अर्को खेलमा नवौं स्थानको चर्च बोइज युनाइटेडले पुछारको सातदोबाटो युथ क्लबसँग पुनरागमन गर्दै अंक बाँडेको छ। ३७औं मिनेटमा सिर्जनहाङ राईले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए। तर, ६६औं मिनेटमा सन्दीप ठाडामगरले गोल गर्दै चर्च बोइजको हार टारे।

चर्च बोइजको लिगमा यो चौथो बराबरी हो। चार जित र नौ हारको सामना गरेको चर्च बोइजको १६ अंक छ। दुई जित, चार बराबरी र ११ हार खेपेको सातदोबाटोले भने १० अंक पुर्‍याएको छ।

प्रकाशित: २९ मंसिर २०८१ ०९:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App