नेपाल प्रिमियर लिग (एनपिएल) मा अघिल्लो दिन मात्रै सुपर ओभरमा पुगेर हार बेहोरेको विराटनगर किङ्सलाई शुक्रबार चितवन राइनोजविरुद्धको खेल जसरी पनि जित्नु थियो र जित्यो पनि। यसमा निर्णायक भने बसिर अहमद रहे। उनकै अलराउन्ड प्रदर्शनका कारण विराटनगरले खेल मात्रै जितेन चितवनको प्लेअफ समीकरण पनि झन् कठिन बनाइदिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ रोजेका थिए। तर, त्यो निर्णय पहिलो पावर प्लेसम्म फलदायी देखिएको थिएन। लुम्बिनी लायन्सविरुद्धको दुई विकेटको पहिलो जितमा ७१ रनको इनिङ खेलेका लोकेश बम तथा स्कट एडवार्ड्स शून्य र दीपक बोहरा चार रनमा पेभेलियन फर्किएसँगै विराटनगरले ब्याटिङमा संघर्ष गरिरहेको थियो। तर, ओपनर मार्टिन गप्टिल र बसिर अहमदले पाएको जीवनदानसँगै विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८१ रनको ठूलो स्कोर खडा गर्यो। जबाफमा आएको चितवनले भने ६ विकेट गुमाउँदै १३० रन मात्रै बनाउन सक्यो।
योसँगै लिग चरणमा काठमाडौं गुर्खाजसँग खेल्न बाँकी रहेको विराटनगरले ६ खेलबाट चार अंक पुर्याएको छ। समान खेलबाट दुई अंक बढी जोडेको चितवनलाई भने यो हारले ठूलो धक्का दिएको छ। अब चितवनले शनिबार जनकपुर बोल्ट्ससँग खेल्दै लिग चरण सक्काउनेछ। यो खेल चितवनका लागि ‘गर या मर’ को अवस्थामा मात्रै होइन प्लेअफमा पुग्न विराटनगरलाई जस्तै अन्य टोलीको नतिजामा भर पर्नुपर्ने समीकरण निर्माण भएको छ।
चितवनका तीव्र गतिका बलर रिजन ढकाल यस्तो अवस्था आइपर्नुमा दुई जीवनदानले महँगो परेको स्वीकार गर्छन्। ‘पहिलो इनिङदेखि नै हामी पछाडि रह्यौं। पहिलो १० ओभरमा विराटनगर एकदमै पछाडि (५२–४) थियो। त्यसमाथि बसिर र गप्टिलको क्याच छाड्नु नै चितवनको हारको कारण बन्यो,’ उनले भने।
पहिलो ओभरमै लोकेश र दीपकको विकेट लिँदै रिजनले चितवनलाई खेलमा बलियो बनाएका थिए। त्यसपछि सोहेल तनवीर र बसिल हमेदले पनि स्कट र निकोलस किर्टनलाई पेभेलियन फर्काएर विराटनगरमाथि दबाब थपे। तर, लगातार विकेट लिइरहेको अवस्थामा तनवीरले ८.४ ओभरमा बसिरलाई व्यक्तिगत आठ रनमा जीवनदान दिए।
यो नै विराटनगरको जितमा ‘टर्निङ पोइन्ट’ बन्यो। त्यसको फाइदा उठाउँदै बसिरले गप्टिलसँग पाँचौं विकेटका लागि ६५ रनको विशाल साझेदारी मात्रै गरेनन् एनपिएलमा पहिलो अर्धशतक पनि प्रहार गरे।
४४ बल खेलेका उनले चार चौका र चार छक्कासहित अविजित रहेर ६८ रनको योगदान दिए। गप्टिललाई पनि १२.३ ओभरमा चितवनका कप्तान कुशल मल्लले डिप स्क्वायरमा जीवनदान दिए। त्यतिखेर गप्टिल ३१ रनमा खेलिरहेका थिए। उनले यहाँबाट १४ रन थप्दै ४५ रनको योगदान दिए। त्यसपछि आएका राजेश पुलामी मगरको अविजित ३३ रनले भने विराटनगरलाई जित दिलाएको हो।
‘बसिरको क्याच लिएको भए अझ कम रन बन्थ्यो। हामीले १२०/१३० मै समेट्न सकिन्थ्यो होला। तर, लिन नसक्दा उनले अन्तिमसम्म खेल्दै विराटनगरलाई जित दिलाए,’ रिजन थकथकाउँछन्।
चितवनले एनपिएलमा पाएको यो नै सबैभन्दा ठूलो लक्ष्य हो। यसअघि चितवनविरुद्ध लुम्बिनी लायन्सले १६७ रनको स्कोर खडा गर्न सकेको थियो। उक्त खेलमा पनि चितवन ३३ रनले हार बेहोरेको थियो। यसपल्ट पनि ठूलो लक्ष्य पछ्याउने क्रममा चितवनका ब्याटर निरीह देखिए। अमर रौटेलाले २९ बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ४२ रन बनाउँदा अन्य ब्याटरले भने क्षमताअनुसार खेल प्रदर्शन गर्न सकेनन्।
स्पिनरसामु खुल्न नसक्दा ओपनर सन्तोष कार्कीले २८, कुशलले २५ र रवि बोपाराले २० रन मात्रै जोड्न सके। विराटनगरका कप्तान सन्दीपले चार ओभरमा २८ रन खर्चिँदै दुई विकेट लिए। बसिर, लोकेशसँगै सुवास भण्डारी, क्रिस सोल समान एक विकेट हात पारे।
कर्णाली फेरि भाग्यमानी
कर्णाली याक्सले ‘लो स्कोरिङ’ खेलमा प्रतियोगिताबाट बाहिरिसकेको लुम्बिनीलाई पाँच रनले पराजित गरेको छ। कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीलाई अन्तिम ओभरमा जितका लागि नौ रन चाहिएको थियो। तर, नन्दन यादवले तीन रन खर्चिएसँगै लुम्बिनी निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १२३ रनमा समेटिएको हो।
चार ओभर बलिङ गरेका नन्दनले २६ रन खर्चिएर एक विकेट लिए। जिसान मक्सुदले दुई विकेट झार्दा कप्तान सोमपाल कामी, विपिन शर्मा र विलियम बोसिस्टोले पनि एकएक विकेट आफ्नो नाममा लेखाए।
लुम्बिनीबाट टम मुर्सेले सर्वाधिक ३६ रन बनाए। ३५ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे। उनलाई नन्दनले १७.५ ओभरमा बोल्ड गराएका थिए। त्यसपछि कर्णाली खेलमा हाबी भएको हो। सन्दीप जोरा २४, आशुतोष घिरैया १६, साद बिन जफर १६ र अर्जुन साउद १३ रनमा पेभेलियन फर्किए।
त्यसअघि सूर्य तामाङको स्थानमा आएका विकास आग्रीले आफ्नो डेब्यु खेलमै सनसनीपूर्ण प्रदर्शन गर्दै तीन विकेट लिएपछि टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२८ रन मात्रै बनाउन सकेको थियो। आग्रीले अन्तिम ओभरमा ३० बलमा तीन चौका र तीन छक्कासहित ४४ रन बनाएका बोसिस्टोलाई एलबिडब्लु आउट गराए। कप्तान सोमपाललाई सात र नन्दनलाई कुनै रन जोड्न दिएनन्। उनले दुई ओभरमा मात्रै १४ रन खर्चिए।
उनीबाहेक अर्जुन घर्ती २५, बाबर हायात २० र चाड्विक वाल्टन १३ रनमा आउट भए। अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। यसअघि कर्णालीले यस्तै खेलमा विराटनगरलाई सात रनले हराएको थियो।
जारी प्रतियोगितामा कर्णालीको यो लगातार चौथो जित हो। सुरुका दुई खेलमा जनकपुरसँग आठ र काठमाडौंसँग तीन विकेटको हार बेहोरेको कर्णालीले ६ खेलबाट आठ अंक पुर्याएको छ। तर, समान अंक रहेको सुदूरपश्चिम रोयल्सविरुद्ध खेल्न बाँकी रहेको कर्णालीको प्लेअफ यात्रा भने अझै स्पष्ट भइसकेको छैन। कर्णालीले पनि अन्य खेलको नतिजा कुर्नुपर्नेछ। यता, चितवनलाई ३३ रनले हराएको लुम्बिनीले एक जितसहित प्रतियोगिता सकिएको छ।
प्रकाशित: २९ मंसिर २०८१ ०९:३४ शनिबार





