सेक्रेड हार्टले तेस्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत फुटबलमा सोमबार दोहोरो उपाधि जितेको छ।
तारकेश्वर नगरपालिकाको आयोजनामा जारी रनिङ सिल्डअन्तर्गत सोमबार भएको फुटबलमा छात्रा र छात्र दुवैतर्फका फाइनलमा सेक्रेड हार्टले उपाधि उचालेको हो। टुसाल खेलमैदानमा भएको छात्र फाइनलमा सेक्रेड हार्टले हिमरश्मिमाथि १–० को साँघुरो गोल अन्तरले हरायो।
सुदिसन तामाङको गोल नै सेक्रेड हार्टलाई उपाधि दिलाउन पर्याप्त बन्यो। छात्राको उपाधि भिडन्तमा सेक्रेड हार्टले कौशललाई २–० गोलले हरायो। दुवै गोल सुविना तामाङले गरिन्। छात्रछात्रा दुवैमा नेपाल राष्ट्रिय मावि तेस्रो भयो।
सेक्रेड हार्टले कबड्डीको छात्रमा पनि उपाधि उचाल्यो। सेक्रेड हार्टले फाइनलमा लालीगुराँस नेसनल एकेडेमीलाई ५९–२६ ले पराजित गर्यो। पुरानो गुह्येश्वरी र नेपाल राष्ट्रिय संयुक्त रूपमा तेस्रो भए। छात्रामा भने हिमरश्मि पहिलो भयो। मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा भएको छात्राको फाइनलमा हिमरश्मिले मानसिंहलाई ७२–५२ ले हरायो। मनमैजु र मानसिंह तेस्रो बने।
त्यस्तै भलिबलको छात्रमा एन्जल्स हार्ट र छात्रामा मानसिंह धर्म माविले उपाधि जिते। छात्रको फाइनलमा एन्जल्स हार्टले हिमरश्मिलाई २५–१६, १३–२५, २५–१५ र २५–२२ को सेटमा हराएको हो।
कालीदेवी तेस्रो भयो। छात्राको फाइनलमा भने एन्जल्स हार्ट पराजित हुन पुग्यो। मानसिंहले एन्जल्स हार्टमाथि २५–१३, १३–२५, २५–१७ र २५–२२ को जित निकाल्यो। मनमैजुले तेस्रो स्थानमा चित्त बुझायो।
प्रकाशित: २५ मंसिर २०८१ ०८:४६ मंगलबार