१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

हेल्प नेपालको लगातार दोस्रो जित

काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप

गण्डकीविरुद्ध प्लेसिङ गर्दै हेल्प नेपालका मजर अली। तस्बिर: विशाल पन्थ

हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित आत्मसात् गरेको छ।

हेल्प नेपालले घरेलु टोली गण्डकी प्रदेशमाथि सहज नतिजा निकाल्दै दोस्रो जित आत्मसात् गरेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हेल्प नेपालले आइतबार गण्डकीलाई ३–१ को सेटमा पराजित गर्‍यो। जितसँगै हेल्प नेपालले दुई खेलबाट पाँच अंक जोडेको छ। गण्डकीको यो दोस्रो दुई हार हो।

दुई हारका बावजुद गण्डकीको एक अंक छ। गण्डकीले माल्दिभ्सको क्लब एचडिसीसँग ३–२ को हार बेहोरे पनि एक अंक बटुल्यो। पहिलो खेलमा दुई सेटमा अग्रता जोगाउन नसक्दा गण्डकीले हार बेहोरेको हो।

आइतबार आफ्नै घरेलु प्रतिद्वन्द्वी हेल्प नेपालसँग पनि गण्डकी पराजित हुन पुग्यो। दोस्रो खेलमा हेल्प नेपालले पहिलो दुई सेट आफ्नो पक्षमा पार्दै सहज जिततर्फ अग्रसर भयो।

हेल्प नेपालले पहिलो सेट २५–१५ र दोस्रो सेट २५–२३ ले सहजै आफ्नो बनाएको हो। तर, तेस्रो सेट गण्डकीले २५–२३ ले आफ्नो बनाउँदै पुनरागमन गर्ने संकेत गर्‍यो। यद्यपि, हेल्प नेपालले चौथो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै विजययात्रा जारी राख्यो।

पहिलो खेलमा हेल्प नेपालले भारतको क्यालिकट हिरोजमाथि ३–२ को सेटमा जित निकालेको थियो। चौथो सेटमा भारतीय टोलीको म्याच पोइन्टबाट जित खोस्दै हेल्प नेपालले सुखद सुरुआत गरेको हो।

आइतबार नै इरानको यु–१८ टोलीले माल्दिभ्सको क्लब एचडिसीलाई ३–२ को सेटमा हराउँदै सुखद सुरुआत गरेको छ। इरानी टोलीले पहिलो सेट २५–१६ ले सहजै आफ्नो बनाएको थियो। तर, दोस्रो सेट भने प्रतिस्पर्धात्मक बन्यो। यो सेट क्लब एचडिसीले २५–२२ ले आफ्नो पक्षमा पार्‍यो।

तेस्रो सेट पनि एचडिसीले २५–२० ले आफ्नो बनाउँदै अग्रता लियो। तर, चौथो सेट इरानी युवा टोलीले २५–२० ले आफ्नो बनाउँदै २–२ को बराबरीमा ल्यायो। निर्णायक तथा पाँचौं सेट पनि इरानी टोलीले १५–१३ ले आफ्नो पक्षमा पार्दै सुखद सुरुआत गरेको छ। हेल्प नेपालले अब बुधबार क्लब एचडिसीसँग प्रतिस्र्पा गर्नेछ।

गण्डकीले भने इरानको यु–१८ टोलीसँग प्रतिस्पर्धा गर्ने तय छ। नेपालसहित चार राष्ट्रका पाँच क्लबले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै छन्। आठौं प्रधानमन्त्री कपका शीर्ष दुई टोलीका रूपमा हेल्प नेपाल र गण्डकीले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका हुन्।

क्यालिकट हिरोज, इरानको यु–१८ टोली र क्लब एचडिसीले प्रतिस्पर्धा गरिरहेका छन्। सिंगल राउन्ड रोबिन लिगका आधार च्याम्पियनसिप भइरहेको छ। लिगका उत्कृष्ट चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनलमा लिगको शीर्ष टोलीले तेस्रो स्थानको टोली तथा दोस्रो हुने टोलीले चौथो स्थानमा लिग सकाउने टोलीसँग खेल्नेछन्। उपाधि भिडन्त आगामी मंसिर २९ गते हुनेछ।

प्रकाशित: २४ मंसिर २०८१ ०८:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App