ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवास्थित थलङमा मंसिर ३० गतेदेखि खुला पुरुष फुटबल, अन्तर वडास्तरीय भलिबलका साथ पुरुष दौड प्रतियोगिता हुने भएको छ।
आयोजक थलङ स्पोर्टिङ क्लवले मंगलवार पत्रकार सम्मेलनमार्फत उक्त प्रतियोगिता आयोजनाबारे जानकारी दिएको हो। चासोक तङ्नाम (न्वागी खाने पर्व) को अवसरमा आयोजना हुने खुला स्तरीय पुरुष नकाउट प्रतियोगिताका विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्।
यस्तै उपविजेता हुने टिमले नगद ६१ हजार रुपैयाँ पाउने छ। बेष्ट गोलकिपर, बेष्ट डिफेण्डर, बेष्ट मिडफिल्डर, हाइस्कोरर, सर्वाेत्कृष्ट खेलाडी र सर्वाेत्कृष्ट प्रशिक्षकलाई ट्रफी प्रदान गरिने भएको छ।
आयोजक थलङ स्पोर्टिङ क्लवका अध्यक्ष मणिकुमार थलङ लिम्बूका अनुसार अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताका विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्।
भलिबलतफै बेष्ट स्पाइकर, बेष्ट लिफ्टर, बेष्ट लिब्रो र अलराउण्डरलाई ट्रफी प्रदान गरिने भएको छ। यस्तै खुल्ला पुरुष दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार,७ हजार र ५ रुपैयाँ पुरस्कार दिइने भएको छ।
मिक्वाखोला गाउँपालिका मुख्य प्रायोजक रहेको कार्यक्रम पुस ५ गतेसम्म सञ्चालन हुने थलङ स्पोर्टिङ क्लवका सचिव पूर्ण थलङले जानकारी दिए। खेलकुदका माध्यमबाट मिक्वाखोला गाउँपालिकाको पर्यटन क्षेत्रको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसारका लागि योगदान दिने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका उपाध्यक्ष अमर थलङले बताए।
नेपालकै चर्चित फुङ्फुङे झरना, मानाभरा डाँडा, मानाभरा देवी, वाग्बा पोखरी, ओत्रक्मा पोखरी, साँवा वंशहरूको माङ्गेनायक, युमा साम्यो चोत्लुङ पार्क, सिकिम्लुङ किराँत हाङसाम माङहिम तथा दर्जनौं गुम्बा तथा धार्मिक संस्कार र संस्कृतिको जर्गेनामा ध्यान दिन कार्यक्रम गर्न लागिएको क्लबका सल्लाहकार बिके थलङले जानकारी दिए।
मिक्वाखोला गाउँपालिका मुख्य प्रायोजक तथा मध्य मेवा डेभलपर्स प्रालि प्रायोजक रहेको उक्त कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम समेत हुने भएका छन्।
कार्यक्रममा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले मिक्वाखोला पर्यटन र खेलकुदको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले यसको प्रचारप्रसार तथा प्रवर्द्धन गर्न यस्ताे कार्यक्रम लाभदायक हुने विश्वास लिए।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार (गणेश) मावोले खेलकुद प्रतियोगिताले मानिसको सर्वाङ्गीण विकासमा टेवा पुग्ने तथा पर्यटन प्रवर्द्धनका लागि समेत भूमिका खेल्ने भएकाले खेलकुद क्षेत्रको विकासमा पछिल्लो समय निकै महत्त्व र लगानी सिर्जना हुँदै आएकोमा प्रसन्नता व्यक्त गरे।
क्लवका सल्लाहकार थलङले मिक्वाखोला गाउँपालिका पर्यटन र खेलकुद क्षेत्रमा उपयुक्त सम्भावनाको क्षेत्र भएकाले यो क्षेत्रको थप उन्नत्तिमा योगदान दिन प्रतियोगिता आयाेजना गरिएको बताए।
गत मंसिर ७ गते देखि मिक्वाखोलाकै साँवास्थित तेम्बामा वडास्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिताका साथ अध्यक्ष कप तथा फुङ्फुङ्गे पर्यटन महोत्सव मनाईएको थियो। थलङ स्पोर्टिङ क्लव २०८० सालमा स्थापना भएको हो।
प्रकाशित: १८ मंसिर २०८१ १०:०३ मंगलबार