एसीसी पुरुष अन्डर -१९ एसिया कपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल पराजित भएको छ।
युएईको शारजाह क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न खेलमा नेपालश्रीलंकासंग ५५ रनले पराजित भएको हो ।
यस अघि नेपालले टस जितेर श्रीलंकालाई पहिलो ब्याटिङको निम्तो दिएपछि श्रीलंकाले निर्धारीत ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाए थियो। जवाफमा जितको लागि २३४ रन पछ्याएको नेपालले ४६ दशमलब २ ओभरमा १७८ रन बनाउँदा सबै विकेट गुमायो र खेल ५५ रनले हार्न पुगेको हो ।
नेपालका लागि ओपनर मयन यादवले सबैभन्दा वढि ६२ रन बनाए। उनले ९१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६२ रन बनाए ।अर्का ओपनर आकाश त्रिपाठीले ३३ बलमा १९, उत्तम थापाले १७, अर्जुन कुमाल र नरेन भट्टले समान १२ तथा नरेन साउदले १६ रन जोडे ।
श्रीलंकाका लागि सबैभन्दा वढि प्रवीण मनिषाले ३ विकेट लिए। त्यसैगरी विहास थेवमिका र कुगादास मथुलनले समान २ विकेट लिए।
श्रीलंकाको पालोमा शरुजन षणमुगनाथनले ६२ तथा लकविन अबेसिङ्घेले ५० रन बनाए। नेपालका लागि सन्तोष यादवले १० ओभरमा ४५ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए। त्यसै गरी युवराज खत्रीले २ तथा हेमन्त धामी र नरेन साउदले समान एक विकेट लिए।
नेपालले दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्नेछ।समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ।
एसिसीको आयोजनामा भइरहेको प्रतियोगितामा एसियाका ८ देशले सहभागिता जनाएका छन्। प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए।
नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत बर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो।
प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ। समूह बीमा नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।
समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन्।समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन्।फाइनल मंसिर २३ गते हुनेछ।
प्रकाशित: १४ मंसिर २०८१ १८:३३ शुक्रबार