१२ मंसिर २०८१ बुधबार
image/svg+xml
खेल

मनाङको हार शृंखला जारी

ललित स्मृति एन्फा यु–१८ युथ लिगमा मंगलबार पनि मनाङ मस्र्याङ्दी फुटबल क्लबले हार शृंखला जारी राख्यो। पहिलो ‘ब्रेक’ अघि मनाङ १८ अंकसहित तालिकाको दोस्रो स्थानमा थियो। तर, लिग लिडर विभागीय टोली नेपाल पुलिस क्लबलाई ७–० को नतिजा सुम्पिँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको ‘ब्रेक’ पछि मनाङ लिगमा फर्किएको थियो। उसको नाजुक यात्रा यहींदेखि सुरु भएको हो। त्यो यात्रा जारी राख्ने क्रममा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा संकटासँग मनाङले ४–१ को अर्को नमीठो हारको सामना गर्न पुग्यो।  

लिगमा मनाङको यो लगातार तेस्रो र समग्रमा पाँचौं हार हो। यसअघि मनाङले थ्री स्टारलाई १–० को नतिजा सुम्पिएको थियो। यो जितसँगै मनाङलाई उछिन्दै संकटा अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ। संकटाले १२ खेलको समाप्तिमा २१ अंक बटुलेको छ। तर, समान खेल खेलेको मनाङ भने १८ अंकसहित छैटौं स्थानमा झरेको छ। मनाङलाई दुई स्थान तल झार्न संकटाले मात्रै होइन, मंगलबार नै भएको अर्को खेलमा खराब लयमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबले समेत भूमिका खेल्दियो। लिगमा दुई जित मात्रै निकालेको आर्मीलाई १२औं खेलमा मच्छिन्द्र फुटबल क्लबले ३–१ ले पराजित गरेको हो। योसँगै २१ अंकसहित मच्छिन्द्र पाँचौं स्थानमा उक्लिएको छ। सातौं हार बेहोरेको आर्मी भने नौ अंकसहित १०औं स्थानमा यथावत् छ।  

मनाङलाई लगातार हार चखाउने क्रममा संकटाका दिवस राई, अनिश थापामगर, सुदीप लामा र कृष्णबहादुर आलेले गोल गरे। अघिल्लो खेलमा मात्रै मच्छिन्द्रमाथि ४–२ को पुनरागमन जित हासिल गरेको संकटाले मनाङमाथि सुरुदेखि नै आक्रामक फुटबल पस्कियो। काउन्टरमा गोल बनाउने अवसरमा दिवसले गोलकिपर उदयजंग पाण्डेलाई बिट गर्दै तेस्रो मिनेटमै संकटालाई सुरुआती अग्रता दिलाएका थिए। तर, अग्रता लिए पनि संकटाले मनाङसँगको दबाब झेल्न सकेन। फ्रिककमार्फत पेनाल्टी बक्सभित्र आएको बललाई रोक्ने क्रममा संकटाका डिफेन्डर हेमन्त भुजेलले सुजन डंगोललाई लडाएपछि मुख्य रेफ्री दिनेश अधिकारीले पहेंलो कार्ड देखाएका थिए। उनले मनाङलाई पेनाल्टीको अवसर दिएपछि संकटाका मुख्य प्रशिक्षक प्रज्ज्वलप्रताप क्षेत्री रुष्ट बनेका थिए। बारम्बार रेफ्रीको क्षमतामाथि प्रश्न उठाएपछि दिनेशले उनलाई सुरुमा पहेंलो कार्ड देखाएका थिए। तर, खेल सुरु गर्न मैदान प्रवेश गरिसकेका रेफ्रीमाथि अपशब्दसमेत बोलेपछि दिनेशले अर्को पहेंलो कार्ड दिँदै उनलाई टचलाइनबाट बाहिर पठाए। तर, पेनाल्टीमा सागर मगर चुके। उनले प्रहार गरेको बल संकटाका गोलकिपर निशान्त रानामगरले सहजै ड्राइभ गर्दै बचाए।

२३औं मिनेटमा सुजनमाथि मिलन गुरुङले फाउल गरेपछि मनाङले पेनाल्टी बक्सनजिक फ्रिकिक प्राप्त गरेको थियो। निशान्तराज लावतीले प्रहार गरेको फ्रिकिक बललाई सागरले हेडर गर्दै जाली चुमाए। योसँगै मनाङ खेलमा फर्किएको थियो। तर, दोस्रो हाफमा मनाङको खेल पुनः खस्कियो। त्यसको फाइदा उठाउँदै संकटाले थप तीन गोल बर्सायो। यसमा नायक भने ५३औं मिनेटमा दिवसको स्थानमा मैदान प्रवेश गरेका सुदीप बने। मैदान छिरेको पाँच मिनेटपछि नै उनको क्रसमा सेटपिसबाट अनिशले गोल गर्दै संकटालाई २–१ को अग्रता दिलाए। त्यसको ६ मिनेटपछि नै सुदीप आफैंले अर्को गोल थपे। कृष्णले मिलाइदिएको बलमा उनले गोल गरेका हुन्। त्यसको पाँच मिनेटपछि कृष्णले गोल गर्दै संकटाको जित पक्का गरे। सुदीपले प्रहार गरेको बल मनाङका गोलकिपर उदयले बचाएका थिए। तर, राम्रोसँग क्लियर हुन नसकेको बललाई दिलान लिम्बूले कृष्णका लागि मिलाइदिए। उनले लामो दूरीबाट प्रहार गरेको बलले सीधै जाली चुम्यो।  

अर्को खेलमा मच्छिन्द्रले पनि संकटा झैं सुरुआतदेखि नै आक्रामक फुटबल पस्किँदै सहज जित हात पा¥यो। मच्छिन्द्रको जितमा भूपेन्द्र धरालाले दुई र प्रसून तामाङले एक गोल गरे। डिफेन्डर निश्चल रानाले देखाएको खराब स्किलको फाइदा उठाउँदै प्रसूनले ११औं मिनेटमा मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए। निश्चलबाट बल खोस्दै प्रसूनले लामो दूरीबाट गरेको प्रहारलाई उमेर समूहको राष्ट्रिय टोलीको पोस्ट सम्हाल्दै आएका गोलकिपर रामबहादुर बोहराले बचाउने कुनै अवसर पाएनन्। त्यसपछि भने भूपेन्द्र खेलमा जमे। उनले ४८ र ८४औं मिनेटमा दुई गोल गर्दै मच्छिन्द्रलाई सहज जिततर्फ अग्रसर गराए। निर्धारित ९० मिनेटभर मच्छिन्द्रको दबाब झेलेको आर्मीले इन्जुरी समयको पाँचौं मिनेटमा गोल फर्काएको थियो। तर, रिबाउन्डमा आएको बलमा समर्पण सुनारले गरेको त्यो गोल सान्त्वनाबाहेक केही हुन सकेन। 

प्रकाशित: १२ मंसिर २०८१ ०८:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App