३ पुस २०८१ बुधबार
image/svg+xml
खेल

तनावपूर्ण विभागीय डर्बीमा जोगियो आर्मी

एन्फा यु-१८ युथ लिग

एपिएफविरुद्ध गोल गरेपछि आर्मीका खेलाडी। तस्बिर: एन्फा

त्रिभुवन आर्मी क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगको विभागीय डर्बीमा सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबसँग हारबाट जोगिँदा संकटा क्लबले मच्छिन्द्रमाथि ४–२ को पुनरागमन जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार भएको तनावपूर्ण पहिलो खेलमा आर्मी रुस्तम थापामगरको गोलमार्फत सुरुआती अग्रता लिन सफल भएको थियो। रविन घलेलाई अनावश्यक फाउल गरेपछि मुख्य रेफ्री विजय तामाङले खेलको चौथो मिनेटमै एपिएफका डिफेन्डर अर्जुन सुनुवारलाई पहेंलो कार्ड देखाएका थिए। प्राप्त फ्रिकिकलाई अनुभव पुरीले सही सदुपयोग गरे। उनले प्रहार गरेको बललाई सेफ पिसबाट अनमार्क रहेका रुस्तमले सहजै हेडरमार्फत आर्मीलाई सुरुआती अग्रता दिलाए। तर, आर्मीले उक्त अग्रता २० मिनेट पनि कायम राख्न सकेन। २४औं मिनेटमा रुस्तमले क्रसलाई विफल बनाउने प्रयासमा ह्यान्ड बल गर्न पुगेपछि एपिएफलाई खेलमा फर्किने अवसर जुर्‍यो।

पवन पाख्रिनको फ्रिकिक बललाई आर्मीका कप्तान तथा गोलकिपर रामबहादुर बोहराले बचाउने प्रयास गरेका थिए। तर, राम्रोसँग नियन्त्रणमा लिन नसक्दा रिबाउन्डमा साजन योञ्जनले गोल गरेका हुन्। रेफ्री विजयले अर्को ह्यान्ड भएको भन्दै संकेत गरे पनि पुनः गोलको मान्यता दिएका हुन्। त्यसको सात मिनेटपछि नै एपिएफले खेलमा २–१ को अग्रता लियो। अनुभवको खुट्टाबाट बल खोस्दै पवनले बनाइदिएको अवसरमा सुनिल थिङले गोल गरे।

पहिलो हाफको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा एपिएफ १० खेलाडीमा समेटियो। सुरुआती अग्रता लिए पनि जोगाउन असफल हुँदा दबाबमा रहेको आर्मीका खेलाडीलाई निरन्तर फाउल गरेपछि रेफ्री विजयले लेफ्ट ब्याक अर्जुनलाई दोस्रो पहेंलोसहित रातो कार्ड देखाए। अट्याक गर्न अगाडि बढेका रोहितलाई रोक्ने क्रममा अर्जुनले लडाउन पुगेपछि एपिएफ सजायको भागीदार हुन पुग्यो।

६४औं मिनेटमा आर्मीले खेलमा फर्किने अवसर गुमायो। रोहितको क्रसमा दिग्विजय शाहीले पेनाल्टी बक्सबाट प्रहार गरेको बल माथिल्लो बारमा लागेर फर्किन पुग्यो। तर, त्यसको अर्को मिनेटमै अनुभवले आर्मीलाई खेलमा फर्काए। वैकल्पिक खेलाडी दक्ष लामाको प्रहारलाई सुजन मल्लले रोक्ने क्रममा बललाई हातले छुन पुगेपछि आर्मीले पेनाल्टीको अवसर पायो। दक्ष चार मिनेटअघि मात्रै मैदान प्रवेश गरेका थिए।

उक्त पेनाल्टीमा अनुभव चुकेनन्। तर, एक मिनेटपछि नै आर्मी पनि १० खेलाडीमा समेटिन पुग्यो। गोलसँगै बल लिन जाने क्रममा एपिएफको डी बक्सभित्र झगडा गर्न पुगेपछि रेफ्री विजयले दिग्विजयलाई अर्को पहेंलोसहित रातो कार्ड देखाए। अनुशासन कायम राख्न नसकेका उनले त्यसअघि ५२औं मिनेटमा पनि पहेंलो कार्ड बेहोरेका थिए। त्यसपछि दुवै टोलीले केही अवसर बुने पनि गोल गर्न सकेनन् र खेल २–२ को बराबरीमा सकियो।

यो बराबरीसँगै आठौं स्थानको एपिएफले दुई अंक गुमायो। एपिएफले ११ खेलको समाप्तिमा १७ अंक जोडेको छ। समान खेलबाट आर्मी नौ अंकसहित १०औं स्थानमा छ।

सोही मैदानमा भएको दोस्रो खेलमा संकटालाई पाँचौं जित दिलाउन कृष्णबहादुर आलेले दुई र सविनकुमार लुङ्गेली मगर र सुदीप लामाले समान एक गोल गरे। खेलको पहिलो हाफसम्म मच्छिन्द्र हाबी देखिएको थियो। तर, दुवै गोल पेनाल्टीमै गर्दै दुईपल्ट अग्रता लिए पनि मच्छिन्द्रले जोगाउन भने सकेन। २७औं मिनेटमा कविर तामाङको पेनाल्टी गोलमार्फत मच्छिन्द्रले सुरुआती अग्रता लिएको थियो।

काउन्टर अट्याकमा गोल गर्न अगाडि बढिरहेका प्रसून तामाङलाई रोक्ने क्रममा संकटाका गोलकिपर सुजन बस्नेतले पेनाल्टी बक्समा लडाउन पुगेका थिए। प्राप्त पेनाल्टीलाई कविरले सहजै गोल गरे। सुजनले सही दिशामा डाइभ गरे पनि बलसम्म पुग्न सकेनन्। अघिल्लो खेलमा एपिएफसँग २–० ले पराजित भएको संकटा यो गोलसँगै दबाबमा देखिएको थियो। तर, सविनले ५७औं मिनेटमा संकटालाई दबाबमुक्त बनाए।

कृष्णले लामो पासमार्फत दिएको बललाई मच्छिन्द्रका डिफेन्डरले क्लियर गर्न ढिला गरेपछि सविनले गोल गर्ने मौका पाएका थिए। गोलकिपर सुजनले आफ्नो स्थान छाडिसकेको अवस्थामा उनले सहजै गोल गरे। तर, ७८औं मिनेटमा रोनिक रानामगरले मच्छिन्द्रलाई पुनः अग्रता दिलाए। प्रशान्त मेन्याङ्बोलाई रोक्ने क्रममा किशोरकुमार दनुवारले लडाउन पुगेपछि रेफ्रीले मच्छिन्द्रलाई पेनाल्टी दिए। उक्त पेनाल्टीलाई रोनिक रानामगरले गोलमा परिणत गरे।

त्यसपछि संकटाले नौ मिनेटमा तीन गोल गर्दै विजय हासिल गर्‍यो। ८४ र ८९औं मिनेटमा कृष्णले दुई गोल गरे। उनले दोस्रो गोल गर्नुअघि सविनय कटुवाल दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदानबाट बाहिरिएका थिए। त्यसपछि १० खेलाडीमा सीमित मच्छिन्द्रमाथि संकटा आक्रामक बनेको हो।

दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा सुदीपले अर्को गोल थपेपछि संकटा खेलमा ढुक्क रहने अवस्थामा आइपुगेको हो। यो हारसँगै मच्छिन्द्रले शीर्ष तीनमा फर्किने मौका गुमाएको छ। मच्छिन्द्र यसअघि थ्री स्टार क्लबसँग २–० ले पराजित हुँदै छैटौं स्थानमा धकेलिएको थियो। ११ खेलबाट मच्छिन्द्रले १८ अंक जोडेको छ। संकटा समान खेलबाट समान अंक बनाए पनि मच्छिन्द्रभन्दा एक स्थानमाथि अर्थात् पाँचौं स्थानमा उक्लिएको छ।

प्रकाशित: ८ मंसिर २०८१ ०७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App