भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मालाई पुत्रलाभ भएको खबर आएको छ। उनकी श्रीमती रितिका सजदेहले छोरालाई जन्म दिएको खबरपछि फ्यानहरूले सामाजिक सञ्जालमा खुशी व्यक्त गरिरहेका छन्।
रोहित र रितिकाको पुत्र लाभका बारेमा सामाजिक सञ्जालमा धेरै पोस्ट गरिएपनि अहिलेसम्म उनीहरुले भने मुख खोलेका छैनन्। रोहित र रितिकाका तर्फबाट आधिकारिक जानकारी नआएपछि शुभचिन्तकहरु भने अन्यौलमा परेका छन्। रोहित र रितिकाले २०१५ मा विवाह गरेका थिए।
रितिकाले डिसेम्बर २०१८ मा छोरीलाई जन्म दिएकी थिइन्। छोरीको नाम समाइरा हो । भारतका मुख्य प्रशिक्षक गौतम गम्भीरले रोहितको अनुपस्थितिको बारेमा आधिकारिक पुष्टि नभएको बताए। भारतीय टोलीले अष्ट्रेलियासँग पाँच खेलको टेष्ट सिरिज खेल्ने छ। यसका लागि विराट कोहलीसहित धेरै खेलाडी अष्ट्रेलिया पुगे। तर रोहित अझै गएका छैनन्।
रोहितले आफ्नो अनुपस्थितीबारे अहिलेसम्म आधिकारिक जानकारी नआएको गौतम गम्भिरले बताए। गौतमले भने, ‘अहिले कुनै पुष्टि भएको छैन। आशा छ उनी उपलब्ध हुनेछन्। हामी तपाईंलाई जानकारी दिनेछौं।’ उनका अनुसार रोहितले पहिलो खेल गुमाए उपकप्तान जसप्रित बुमराहले कप्तानी सम्हाल्ने छन्। यस सिरिजको खेल २२ नोभेम्बरदेखि पर्थमा हुनेछ।
प्रकाशित: १ मंसिर २०८१ ११:३० शनिबार