चवन्न वर्षीय धावक रामसुन्दर कार्की ललितपुरदेखि जनकपुरसम्म पाँचौं पटक दौडने भएका छन्।
कार्कीले मंसिर १८ गतेदेखि दौड यात्रा सुरु गर्दै करिब दुई सय २५ किलोमिटर दूरी मंसिर २१ गते पूरा गर्नेछन्। उनले उक्त दौडको सुरुआत गोदावरी नगरपालिका वडा–१ गोदामचौरस्थित कार्कीटारको हनुमान मन्दिरबाट गर्ने बताएका छन्। उनी गोदावरीका स्थानीय बासिन्दा हुन्।
हनुमान मन्दिर पनि कार्की आफैंले निर्माण गरेका हुन्। त्यही हनुमान मन्दिरमा २७ फिट अग्लो पित्तलको गदा निर्माणका लागि सहयोग संकलन गर्न दौडन लागेको कार्कीले जानकारी गराए।
कार्की यसअघि काठमाडौंदेखि दोलखा तीन पटक, काठमाडौंदेखि बुटवल एक पटक, काठमाडौंदेखि सिन्धुली तीन पटक र काठमाडौंदेखि उत्तर प्रदेश एक पटक दौडेर पुगेका थिए। उनले काठमाडौंदेखि भारतको पश्चिम बंगाल हुँदै भुटानको सिमाना फुन्छुलिङसम्म दौडेका थिए। कार्कीका अनुसार २०६४ सालमा १ सय १ दिन लगाएर नेपालको तत्कालीन ७५ जिल्ला दौडेर पुगेका थिए।
प्रकाशित: २२ कार्तिक २०८१ ०९:१३ बिहीबार