२० कार्तिक २०८१ मंगलबार
image/svg+xml
खेल

सिटीको अपराजित यात्रामा पूर्णविराम

बर्नमाउथविरुद्धको खेलमा रिबाउन्ड बललाई प्रहार गर्दै म्यानचेस्टर सिटीका इर्लिङ हालान्ड। तस्बिर: एपी

प्रशिक्षक पेप ग्वार्डिओलाले खेलाडीको चोटका कारण ठूलो समस्या सामना गर्न सक्ने उल्लेख गरेको एक हप्ता नबित्दै म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको ३२ खेलमा अपराजित यात्रा पूर्णविराम लगाउन बाध्य भएको छ।

बर्नमाउथसँग स्तब्ध हुँदै म्यानचेस्टर सिटीको इङ्लिस प्रिमियर लिगको अपराजित यात्रामा पूर्णविराम लागेको दिन लिभरपुलले भने उपाधि दौडका लागि शीर्षता कायम गरेको छ। बर्नमाउथले घरेलु मैदानमा २–१ को नतिजा रच्दै सिटीको अपराजित यात्रालाई ३२ खेलमा पूर्णविराम लगाएको हो।

यसै हप्ता मात्र ग्वार्डिओलाले लगातार चोट बोकेका खेलाडीबाट आफ्नो टोली समस्यामा पर्न सक्नेबारे चिन्ता व्यक्त गरेका थिए। उनको त्यो अभिव्यक्ति शनिबार सत्यतामा परिणत भयो र सिटीले हार सामना गर्‍यो।

आर्सनलले पनि न्युक्यासलमा १–० ले नतिजा गुमाउँदा लिभरपुल भने उत्कृष्ट पुनरागमनका साथ ब्राइटनमाथि २–१ ले जित निकाल्दै लिगको शीर्ष स्थानमा पुगेको छ। एन्टोइने सेमेन्यो र इभानिलसनको गोल मद्दतमा बर्नमाउथले घरेलु मैदानमा सिटीलाई हार सामना गर्न बाध्य बनाएको हो।

बर्नमाउथले खेलमा पुनरागमन गर्ने सिटीको लक्ष्य सफल हुन दिएन। ८२औं मिनेटमा जोस्को गभार्डिओलले गोल गर्दै सिटीलाई खेलमा फर्काउने संकेत गरेका थिए। इन्जुरी समयमा इर्लिङ हालान्डको हेडर बचाउ हुँदा उनको रिबाउन्ड प्रहार पनि पोस्टमा लागेपछि सिटीको पुनरागमन प्रयास सफल भएन। यस सिजनको लिगमा सिटीको यो पहिलो हार हो।

समग्रमा सबै प्रतियोगितामा गरेर सिटीले दोस्रो पराजय सामना गर्नुपर्‍यो। गत हप्ता मात्र सिटी लिग कपमा टोटनहमसँग पराजित भएको थियो। लिगमा पनि सिटीले हार सामना गर्नुपर्‍यो। यो हारसँगै डिफेन्डिङ च्याम्पियन सिटी शीर्ष स्थानको लिभरपुलभन्दा दुई अंकले पछि छ। ‘हामीले बर्नमाउथको तीव्र गतिको खेललाई आज नियन्त्रणमा राख्न नसक्दा हार बेहोर्‍यौं,’ हारपछि ग्वार्डिओलाले भनेका थिए।

न्युक्यासलमा आर्सनलको हारसँगै उपाधिका तीन मुख्य दाबेदार पराजयको संघारमा देखिएका थिए। ब्राइटनले पहिलो हाफमा गोल गर्दै इन्फिल्डमा लिभरपुललाई चुनौती दिएपछि दाबेदारहरू हारको संघारमा रहेको अनुमान थियो।

तर, दोस्रो हाफमा तीन मिनेटकै अन्तरमा लिभरपुलले दुई गोल गर्दै ब्राइटनको योजना पूरा हुन दिएन। कोडी गाक्पोले ७०औं र मोहम्मद सालाहले ७२औं मिनेटमा गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका हुन्। ‘पहिलो हाफमा धेरै खराब खेलेका थियौं। त्यसैले दोस्रो हाफमा सुधार हुन आवश्यक थियो। हाम्रा खेलाडीले दोस्रो हाफमा खेल सुधार गरे,’ लिभरपुलका प्रशिक्षक आर्ने स्लटले भने, ‘पहिलो हाफमा उनीहरूले राम्रोसँग बल आफ्नो पक्षमा राखे। तर, दोस्रो हाफमा यी पक्षमा हामीले सुधार गर्‍यौं।’

यता, यो हारले आर्सनललाई ठूलो धक्का लागेको छ। शीर्ष स्थानको लिभरपुलभन्दा सात अंकले पछि रहेको आर्सनल पाँचौं स्थानमा छ।

नटिङ्घम फरेस्टले भने १० खेलाडीमा सीमित वेस्टह्याम युनाइटेडमाथि ३–० ले जित निकालेको थियो। यो जितसँगै नटिङ्घम फरेस्ट शीर्ष स्थानको लिभरपुलभन्दा ६ अंकले पछाडि रहँदै तेस्रो स्थानमा छ। यसै हप्ता साउथह्याम्पटनले पनि यस सिजनको पहिलो जित निकालेको थियो।

 एडम आर्मस्ट्रोङले ८५औं मिनेटमा गरेको गोल प्रेरणामा साउथ ह्याम्पटनले एभर्टनमाथि १–० को कठिन जित निकालेको हो। यसै सिजन प्रिमियर लिगमा आएको इप्सविच अन्तिम समयमा समालिन नसक्दा लेस्टर सिटीसँग १–१ गोलको बराबरी सामना गर्न बाध्य भयो।

लिगको अंकतालिकामा पुछारमा रहेको वुल्भ्सले पनि क्रिस्टल प्यालेसलाई २–२ को बराबरीमा रोक्यो। यी चारै गोल दोस्रो हाफको १७ मिनेटभित्र भए। टोटेनह्यामले पनि एस्टन भिल्लामाथि ४–१ को जित रचेको हो।

टोटेनह्यामले पनि १–० ले पछि परेको स्थिति उल्टाउँदै चार गोल फर्कायो। म्यानचेस्टर युनाइटेडले चेल्सीसँग १–१ को नतिजा सामना गरेपछि ४० वर्षपछि लिगमा खराब सुरुआत गर्‍यो। सन् १९८६/८७ पछि युनाइटेडले पहिलो १० खेलमा खराब नतिजा सामना गरेको हो। युनाइटेड शीर्ष टोलीभन्दा १० अंकले पछि छ। 

प्रकाशित: २० कार्तिक २०८१ ०८:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App