२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
खेल

यु-१९ राष्ट्रिय क्रिकेट: लुम्बिनीको शीर्ष स्थान कायमै

विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल मेन्स यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी र गण्डकी प्रदेशले विजयी भए।  

प्रतियोगिता अन्तर्गत बुधबार बैजानाथपुरस्थित गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएका खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गरेको हो।

टस जितेर लुम्बिनीले फिल्डिङ रोज्दै कर्णालीलाई ब्याटिङको मौका दिएको थियो। पहिलो ब्याटिङ थालेको कर्णालीले ३७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ९९ रनमै सीमित भयो। अरविन्द घर्तीले २०, भूपेन्द्र शाहीले १९ र अनिरुद्र कवरले १५ रन बनाए। लुम्बिनीका सन्तोष यादवले ६ विकेट, रमेश कुर्मीले २, महेश भट्ट र निर्मल गुरुङले १–१ विकेट लिए। 

लुम्बिनीले पाएको १ सय रनको लक्ष्य पछ्याउने क्रममा २६ ओभर ४ बल खेल्दै ६ विकेटको क्षतिमा १ सय ३ रन बनाउँदै विजयी भयो। दर्स सोनार र नर सार्कीले २०–२० रन, सन्तोष यादवले १७ रन, आकाश त्रिपाठीले १४ र दिलसाद अलीले १० रन योगदान गरे। कर्णालीका अनुज चनारा र युनिस ठकुरीले समान २–२ विकेट तथा विपिन शर्मा र दीप पौडेलले १–१ विकेट लिए। प्लेयर अफ द म्याच लुम्बिनीका सन्तोष यादवले भए।

त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको अर्को खेलमा गण्डकी प्रदेशले घरेलु टोली कोशी प्रदेशलाई १ सय १४ को फराकिलो रनमा पराजित ग¥यो।

गण्डकीले टस जिती ब्याटिङ थाल्दै ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८ रनको स्कोर खडा ग¥यो । सिब्रिन श्रेष्ठले ५३, अर्जुन कुमालले ४६, सोहिल कुन्वारले ३३, सुदीप अर्यालले २२, रोहित चन्दले १३ र कर्ण पंगेनीले ११ रनको योगदान गरे। कोशीका रोशन साहले ४, विपिन महतोले ३ विकेट लिए।

कोशीले २ सय ९ को लक्ष्य भेट्याउने क्रममा ३३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमै समेटियो । सोनु अन्सारीले ३४, भूपाल ढंगोलले १९ र फैजल रहमनले ११ रन बनाए। गण्डकीका अर्जुन कुमालले ४, अपराजित पौडेलले ३, सिब्रिन श्रेष्ठले २ विकेट लिए। गण्डकी प्रदेशका सिब्रिन श्रेष्ठ प्लेयर अफ द म्याच भए।

लुम्बिनी ३ खेलबाट ६ अंक, मधेस र गण्डकी ३–३ खेलबाट ४–४ अंक, बागमती र सुदूरपश्चिम २–२ खेलबाट २–२ अंक बटुलेका छन् भने कोशी र कर्णाली अङ्कविहीन अवस्थामा छन्।

प्रतियोगिता अन्तर्गत बिहीबारको खेल बैजानाथपुरस्थित गिरिजाप्रसाद कोइराला खेल मैदानमा गण्डकी र सुदूरपश्चिम प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशबिच हुनेछ। 

प्रकाशित: १४ कार्तिक २०८१ १७:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App