१ पुस २०८१ सोमबार
image/svg+xml
खेल

उपत्यकाव्यापी अन्तरपालिका एकायन कराते हुने

प्रथम उपमेयर कप उपत्यकाव्यापी अन्तरपालिका एकायन कराते प्रतियोगिता हुने भएको छ।

नेपाल एकायन कराते संघले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा आगामी कात्तिक २४ र २५ गते उक्त प्रतियोगिता गर्न लागेको हो। 

सोमबार वसन्तपुरमा पत्रकार सम्मेलनमा आयोजना गर्दै संघले प्रतियोगिताबारे जानकारी दिएको थियो। उक्त प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछन्। महिलातर्फ ६ तथा पुरुषमा आठ गरी प्रतियोगितामा कुल १४ तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजक संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलले जानकारी दिए।

नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष डंगोलले यस प्रतियोगितामा काठमाडौं महानगरपालिकाभित्र सञ्चालित एकायन कराते संघका विभिन्न शाखा तथा विद्यालय र प्रशिक्षण केन्द्रहरूका खेलाडीले सहभागिता जनाउने जानकारी दिए। यस प्रतियोगितामा करिब सात सय खेलाडीले चुनौती प्रस्तुत गर्नेछन्।

अध्यक्ष डंगोलले विगतमा विभिन्न राष्ट्रियलगायत इन्डो–नेपाल र दक्षिण एसियाली एकायन प्रतियोगिता सम्पन्न गरिसकेको उल्लेख गर्दै आगामी पुसमा एसियाली एकायन कराते च्याम्पियनसिप आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए।

साथै उनले महिला दिवसका अवसरमा पनि महिला खेलाडीका लागि मात्रै प्रतियोगिता आयोजना गरिने पनि उल्लेख गरे। सचिव बुद्धशरण शाहीले यस प्रतियोगिताका लागि कुल १९ लाख रूपैयाँ लागत रहेको र यसमा ७० प्रतिशत सहयोग काठमाडौँ महानगरपालिकाको रहने उल्लेख गरे। 

प्रत्येक तौलसमूहका शीर्ष तीन स्थानका खेलाडीलाई नगद पुरस्कार दिने संघको भनाइ छ। एकायन नेपालमै सिर्जित करातेको एक विधा हो। २०७२ सालमा राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको नेपाल एकायन कराते संघले नेपाली भाषामै करातेमा समावेश हुने प्राविधिक पक्षहरू समेटेको छ। 

प्रकाशित: १३ कार्तिक २०८१ १०:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App