११ कार्तिक २०८१ आइतबार
image/svg+xml
खेल

मैत्रीपूर्ण ब्याडमिन्टनको उपाधि कालुराम र सन्तोषको जोडीलाई

दिपावली तथा छठ पर्वको अवसरमा गाईघाटमा आयोजित मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको उपाधि कालुराम उराव र सन्तोष गुप्ताको जोडीले जितेको छ।

शुक्रबार सुरु भई शनिबार सम्पन्न भएको ‘मैत्रीपूर्ण मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगिता ०८१’ मा भोटराज राई र प्रमोद यादवको जोडीलाई पराजित गर्दै कालुराम र सन्तोषको जोडीले उपाधि हात पारेको हो।

प्रतियोगिताको तेस्रो स्थान एचके राई र आङदोर्जे लामाको जोडी तथा शीला राई र जेनिस मगरको जोडीले हासिल गरे।

सँधै कभर्डहलमा हुने गरेको प्रतियोगिता फरक स्वादका लागि त्रियुगा नगरपालिका ११ चप्पनस्थित चप्पन महिला सामुदायिक वन उपभोक्ता समूहको वनभोजस्थलमा खेलाइएको थियो।

प्रतियोगिताका विजयी खेलाडीलाई शनिबार साँझ जिल्ला न्यायाधीश हरिचन्द्र ईङनाम, प्रमुख जिल्ला अधिकारी हरिप्रकाश घिमिरे, जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगी, सशस्त्र प्रहरी प्रमुख एसपी सरोजसिँह बस्नेत, नेपाली सेनाको पशुपतिप्रसाद गणपति शिवप्रसाद वाग्लेलगायतले वितरण गरे।

स्थानीय ब्याडमिन्टन खेलाडी तथा खेलप्रेमीहरुको स्वस्फुर्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको खेल संयोजक तथा खेलाडी बलबहादुर कार्कीले बताए। दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदानसहित आयोजित प्रतियोगितासँगै वनभोजको पनि व्यवस्था गरिएको संयोजक कार्कीले बताए।

सिनियर र जुनियर दुबै खाले खेलाडीलाई मिलाएर खेलाइएको मैत्रीपूर्ण खेलमा ३२ जोडीको सहभागिता रहेको थियो। समापन कार्यक्रममा उदयपुरका अग्रज व्याडमिन्टन खेलाडी तथा व्याडमिन्टर सङ्घका सँस्थागत कोषाध्यक्ष कुलचन्द्र श्रेष्ठलाई सम्मानसमेत गरिएको थियो।

प्रतियोगिता समापनपछि वनभोजमा सहभागी खेलाडीहरुले वनभोजस्थलको सरसफाई पनि गरे। वनभोज खाँदा उत्पन्न हुने फोहोर मैला सरसफाई नगर्दा यत्रतत्र छरिएर वातावरण नै प्रदूषित गर्ने गरेकोप्रति मध्यनजर राख्दै खेलाडीहरुले सरसफाई गरेका हुन्।  

प्रकाशित: ११ कार्तिक २०८१ ०९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App