१० कार्तिक २०८१ शनिबार
image/svg+xml
खेल

गृहजिल्लामा निरुता र नवराजलाई सम्मान

अपिहिमाल गाउँपालिकाले नेपाली राष्ट्रिय भलिबल खेलाडी निरुता ठगुन्ना र नवराज धामीलाई सम्मान गरेको छ ।

दार्चुलास्थित गाउँपालिकाकै सभाहलमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर निरुता ठगुन्ना र सुदूरपश्चिम भलिबल टोलीका कप्तान नवराज धामीलाई सम्मान गरेको हो। निरुता राष्ट्रिय टोलीकै महत्वपूर्ण सदस्य हुन्। अपिहिमाल गाउँपालिकाले उक्त गाउँपालिकामा गरिएको दुईदिने आँखा जाँच शिवरका अवसरमा खेलाडीलाई सम्मान गरेको हो। नेपालले यसै वर्ष पहिलोपल्ट भलिबलमा भारतमाथि जित रच्दा निरुता टोलीकी महत्वपूर्ण सदस्य थिइन्।

उनी काभा महिला भलिबल च्याम्पियनसिपको उपविजेता टोलीकी सदस्य पनि हुन्। नेपाली भलिबलका यी दुवै खेलाडी दार्चुलाकै हुन्। निरुता नौगाढ गाउँपालिका र नवराज शैल्यशिखर नगरपालिकाका बासिन्दा रहेको अपिहिमाल गाउँपालिकाका सूचना अधिकारी पानसिंह धामीले जानकारी दिए। पानसिंहका अनुसार अपिहिमालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यअनुरूप नेपाली भलिबलका यी दुवै खेलाडीलाई अपी बेससम्म भ्रमण गराइएको बताए।  

उक्त भ्रमण टोलीमा भलिबलका खेलाडी निरुतासँगै दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठकरे बोहरा र आँखा चिकित्सकलगायत थिए। भिजन टुगेदर र अपिहिमाल गाउँपालिकाको संयुक्त आयोजनामा उक्त आँखा शिविर भएको अपिहिमाल गाउँपालिका सूचना अधिकारी धामीले जानकारी दिए। उक्त शिविरका अवसरमा गाउँपालिकाभित्रका मोतीबिन्दु भएका ३५ जनाको ६ चिकित्सक टोलीबाट अप्रेसन पनि गरिएको थियो।

अपिहिमाल गाउँपालिका अध्यक्ष बोहराले अपिहिमालको उत्कृष्ट पर्यटकीय गन्तव्य प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष विभिन्न क्षेत्रका व्यक्तिलाई भ्रमण गराइएको बताए। सोही उद्देश्यअनुरूप आफ्नो नेतृत्वमा भलिबल खेलाडी, चिकित्सक र जिल्ला प्रशासनका प्रमुखलगायत व्यक्तित्वलाई भ्रमण गराइएको गाउँपालिकाका अध्यक्ष बोहराको भनाइ छ। भलिबल खेलाडी निरुताले ठाउँठाउँमा होमस्टे र राम्रा बाटोहरू भएकाले अपि बेसक्याम्प उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताइन्। अपिहिमाल गाउँपालिकाले यो उच्च भूभागमा मैत्रीपूर्ण क्रिकेट खेल आयोजना गर्ने लक्ष्य पनि राखेको छ। 

प्रकाशित: १० कार्तिक २०८१ ०९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App