८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
खेल

भारत फेरि हार टार्न असफल

पाँचपल्टको विजेता भारत यसपल्ट पनि साफ महिला च्याम्पियनसिपमा बाङ्लादेशसँग हार टार्न असफल भएको छ।दशरथ रंगशालामा भएको समूह ‘ए’ को अन्तिम खेलमा भारतले बुधबार साबिकको विजेता बाङ्लादेशसँग ३–१ ले नतिजा सुम्पिन पुग्यो। 

यसअघि नै सेमिफाइनलमा पुगिसकेको भारत बाङ्लादेशविरुद्ध उत्रँदा समूहविजेता बन्ने र गत भेटमा भएको हारको बदला लिने लक्ष्यसहित बुधबार मैदान उत्रिएको थियो। तर, साफकै सबैभन्दा सफल भारतको लक्ष्य पूरा भएन र लगातार दोस्रो संस्करणमा बाङ्लादेशसँग नतिजा सुम्पिन बाध्य भयो।गत छैटौं संस्करणमा पनि समूहचरणको अन्तिम खेलमा बाङ्लादेशले भारतमाथि ३–० को सहज जित निकालेको थियो ।बाङ्लादेशले भारतविरुद्ध विजययात्रा यसपल्ट पनि कायमै राख्यो।  

यससँगै भारतले सन् २०१० देखि सुरु भएको महिला साफको इतिहासमा तीन खेलको नतिजा गुमाउन पुग्यो । गत संस्करणको सेमिफाइनलमा नेपालले पनि भारतलाई १–० को हार चखाएको थियो। यसपल्ट बाङ्लादेशसँगै भारत र नेपाललाई उपाधि दाबेदारका रूपमा हेरिएको छ । साबिक विजेता बाङ्लादेशले बलियो भारतमाथि उत्कृष्ट प्रदर्शनसँगै यसपल्ट पनि उत्कृष्ट लयमा रहेको प्रमाणित गरेको छ। समूहको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी सामना गरेपछि बाङ्लादेशको प्रदर्शन खस्किएको अनुमान गरिएको थियो।  

तर, भारतविरुद्ध रबाफिलो जितसँगै बाङ्लादेश त्यो अनुमानलाई खारेज गरिदिएको छ। भारतको हारले पाकिस्तानलाई भने चोट दियो।बाङ्लादेशमाथि भारतको जितले पाकिस्तान पनि उपविजेताका रूपमा सेमिफाइनलमा पुग्ने लक्ष्य थियो।तर, कट्टर प्रतिद्वन्द्वीको जित कामना गरिरहेको पाकिस्तानको लक्ष्य पूरा हुन सकेन। पाकिस्तानको सेमिफाइनलमा पुग्ने झीनो आशा समाप्त भयो । बाङ्लादेश समूहविजेता र भारत उपविजेताका रूपमा सेमिफाइनलमा पुगे। समान दुई खेलबाट बाङ्लादेशले चार, भारतले तीन र पाकिस्तानले एक अंक बटुले।  

पहिलो हाफमा तीन गोलले पछाडि परेको स्थितिमा भारतले एक गोल फर्काएको थियो। तर, दोस्रो हाफमा भने गोल निस्किएन। बाङ्लादेशका लागि तोहुरा खातुनले दुई र अफेइदा खन्दाकेरले एक गोल गरे । भारतकी बालादेवीले एक गोल फर्काइन् । भारतले खेलमा फर्कने लगातार उत्कृष्ट आक्रमण गरेको थियो। तर, बाङ्लादेशकी गोलकिपर रूपना चक्माले भारतको एकपछि अर्को प्रहार विफल बनाउँदै आफ्नो टोलीको विजययात्रा जारी राख्न मद्दत गरिन्। पहिलो हाफमा भारतकी बालादेवीले सुन्दर अवसर गोलमा परिणत गर्न नसक्दा मनीषाको फ्रिकिक पनि पहिलो बारमा लागेर बाहिरिन पुग्यो।  

दोस्रो हाफमा पनि भारतको आक्रमण बंगाली गोलकिपर चक्मालाई पार गर्न असफल भयो। त्यसअघि खेलको दशौं मिनेटमा भारतीय खेलाडी मनीषाको प्रहार बाङ्लादेशकी गोलकिपर चक्माले बचाइन् । तर, १८औं मिनेटमा बाङ्लादेशले अग्रता लिएपछि भारत दबाबमा प¥यो। सेटपिस अवसर सदुपयोग गर्दै बाङ्लादेश अघि बढेको हो। कप्तान सबिना खातुनको कर्नर भारतीय गोलकिपर पान्थोई चानुले नियन्त्रणमा लिन सकिनन्। जसको फाइदा अफेइदाले लिइन् । चानु अगाडि बढेको अवस्थामा उनको ‘चिफ’ प्रहार टप कर्नर हुँदै जाली चुम्न पुग्यो। २९औं मिनेटमा बाङ्लादेशले दोस्रो गोल थप्यो।

यसपल्ट भारतीय रक्षकको तालमेल नमिल्दा रितु पोर्ना चक्माको क्रसमा तोहुरा खातुनले गोल गरिन्। ३५औं मिनेटमा चानु सोरोखाइबमको क्रसमा बालादेवीले गरेको प्रहार गोलकिपर चक्माले बचाइन्। त्यसको सात मिनेटपछि तोहुराले व्यक्तिगत दोस्रो गोल गर्दै बाङ्लादेशको अग्रता ३–० मा पुग्यो। समसुनाहर जुनियरको ब्याक पासमा बक्सनजिकै रहेकी तोहुराले दर्शनीय गोल गरिन्। उनको शक्तिशाली प्रहारले दोस्रो बारको जाली चुमेको थियो। बाङ्लादेशले तेस्रो गोलको उत्सव मनाउन नपाउँदै भारतले पहिलो गोल फर्कायो। काउन्टर आक्रमणमा बालादेवीले गोल गरिन्। बाङ्लादेशी गोलकिपर चक्माको हातबाट फुत्किएको बललाई बालादेवीले हेड गर्दै जाली चुमाएकी हुन्।  

यससँगै पहिलो हाफमा बाङ्लादेश ३–१ ले पछाडि रह्यो। दोस्रो हाफमा भने दुवै तर्पmबाट गोल हुन सकेन। यद्यपि, भारतले दोस्रो हाफको सुरूमै आक्रमण गर्दै खेलमा फर्किने संकेत गरेको थियो । तर, सफल भएन। ५४औं मिनेटमा भारतकी रिम्पा हल्दारले करिब १५ यार्डबाट गरेको सशक्त प्रहार बाङ्लादेशी गोलकिपर चक्माले उत्कृष्ट बचाउ गरिन्। ६२औं मिनेटमा पनि भारतको उत्कृष्ट आक्रमण सफल भएन। ज्योति चौहानले पेनाल्टी बक्सबाटै गरेको सशक्त प्रहार फेरि चक्माले नै पन्च गर्दै विफल पारिन्।

८०औं मिनेटमा मध्यभागबाट सपना रानीले गरेको लामो प्रहार भारतकी गोलकिपर पन्थोईले पन्च गर्दै खेलमा पूर्ण हाबी हुने बाङ्लादेशको लक्ष्य पूरा हुन दिइनन्।त्यसपछिका बाँकी समयमा दुवै तर्पmबाट अवसर सिर्जना भए पनि गोल निस्किएन र बाङ्लादेशले ३–१ को जित निकाल्यो।हारका बावजुद भारतका प्रशिक्षक सन्तोष कश्यपले खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक रहे पनि आफ्नो पक्षमा नतिजा नआएको बताए।  

‘आजको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक भयो।दुर्भाग्यवश खेल गुमायौं । मेरा खेलाडीले पनि राम्रै खेले। बाङ्लादेशको खेल पनि धेरै राम्रो थियो । उनीहरूले बल पोसेसन राख्दै दबाब बनाए र सफल पनि भए,’ कश्यपले भने।  

बाङ्लादेशका प्रशिक्षक पिटर बटलरले आफ्ना खेलाडीले टेक्निकल रूपमा राम्रो प्रदर्शन गरेको भन्दै खुलेर प्रशंसा गरे। ’मेरा खेलाडीले राम्रो र अनुशासित रूपमा खेले । सबै खेलाडी टेक्निकल रूपमा उत्कृष्ट देखिए। मेरा खेलाडीप्रति मलाई गर्व लागेको छ । किनकि उनीहरूले आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गरे,’ पिटरले भने,’यो नतिजाले धेरै उत्साहित हुने छैनौं । आगामी खेलमा ध्यान दिनेछौं।’  

प्रकाशित: ८ कार्तिक २०८१ १०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App