८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

गढीमाई पञ्च वर्षीय मेला सुरु

विश्व प्रसिद्ध गढीमाई पञ्च वर्षीय मेला विधिवत् रूपमा सुरु भएको छ। बाराको महागढीमाई नगरपालिका १ बरियारपुर स्थित विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मन्दिरमा बडा दसैँको घटस्थापनाको दिन पूजा भएसँगै मेला सुरु भएको हो।

मेला सुरु हुनु केही दिन अघि मेलाको वैभवको रुपमा शोभायात्रा निकालिएको थियो। मन्दिर परिसरबाट बाजा गाजा हात्ती घोडा ऊँट झाँकी सहित हजारौँ मानिसको सहभागितामा शोभायात्रा निकालिएको थियो।

आउँदो मंसिर १७ गतेदेखि ३० गते सम्म सञ्चालन हुने मेलामा करोडौँ भक्तजन तथा दर्शनार्थीहरु दर्शन गर्न तथा मेला भर्नहरुको घुइँचो लाग्ने अपेक्षा मेला तथा मूल व्यवस्थापन समितिले राखेको छ।

गढीमाई मेलामा नेपाल बाहेक भारतबाट ठूलो संख्यामा माता गढीमाई प्रति आस्था राख्ने श्रद्धालु भक्तजनहरु आउने विश्वास गरिएका छन्। 

गढीमाई मन्दिरको धार्मिक मान्यता र इतिहास

किम्बदन्ती अनुसार हजारौँ वर्ष पहिले जेल घरमा राति निदाएको बेलामा सपनामा आएकी मकवापुरगढीकी तुलजा भवानी अर्थात गढीमाईले मलाई आफ्नो गाउँमा लैजाऊ, अनि मात्र तिमी जेल मुक्त हुनेछौ र तिम्रा सारा दुः ख पीडा समाप्त हुनेछ। हत्या अभियोगमा जेलमै सजाय भोगिरहेका भगवान दास चौधरीलाई सपनामा दर्शन दिएपछि जेलमुक्त भएका चौधरीले भवानीले दिएको त्रिशूल बाराको परियारपुरमा ल्याएर गाडेका किम्बदन्ती छ। तिनै चौधरीका वंशजले त्यसै बेलादेखि गढीमाई मन्दिरको रेखदेख र पूजाआजा गर्दै आएको बत्ताइन्छ।

देवीकै आदेश अनुसार जेलबाट छुटकारा पाएपछि चौधरीले फर्किदा ल्याएको त्रिसुल बरियारपुर स्थित गाडेका थिए र सोही स्थानमा अहिले गढीमाई मन्दिर रहेको छ। मन्दिरका संस्थापक पुजारी भगवान दाश चौधरीका सन्तानबाट १० औं पुस्ताका शिव चौधरी हाल मन्दिरका मूल पुजारी रहेका छन्।

गढीमाईको विशेष पूजा

मङ्सिर शुक्ल पक्ष सप्तमी तिथिका दिन झाँक्रीले विधिपूर्वक विशेष रूपमा तान्त्रिक पूजा गरी पञ्चवलिबाट बलि दिने परम्परा रहिआएको छ।

मेला शुभारम्भ मंसिर १७ गते हुने छ। गढीमाईको विशेष पूजा मंसिर २३ देखि २५ गते सम्म हुने र मंसिर ३० गते आइतबारका दिन सम्पन्न हुने अर्थात विसर्जन हुने मेला व्यवस्थापन समितिले जनाएको छ।

विशेष पूजाका लागि सहयोग स्वरूप ५ सय रुपैयाँ तोकिएको छ। विशेष पूजाबापत संकलन भएको रकमले मन्दिरमा पुजारी राख्ने तथा अन्य सरसफाइका काममा खर्च गर्ने योजना रहेको मेला समितिले जनाएको छ।

मेलामा आउने भक्तजनको सुरक्षाका लागि समेत उचित व्यवस्था गरिएको समितिले जानकारी दिए। हरेक चोक चोकमा प्रहरी देखि लिएर अन्य गस्तीको समेत व्यवस्था मिलाइएको मेला समिति संयोजक उपेन्द्र प्रसाद यादवले बताए। 

गढीमाई मन्दिरको मूल पुजारी चौधरी किन ?

प्रायः मन्दिरहरूमा पुजारीको रुपमा भट या ब्राह्मण हुने गर्दछन् तर गढीमार्य मन्दिरको मूल पुजारी चौधरी समुदायको नै रहिआएका छन्। गढीमाई मन्दिरको स्थापना काल देखि नै चौधरी समुदायबाट नै मूल पुजार राखिने चलन रहेको महागढीमाई नगरपालिकाको मेयर तथा मेला व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादव बताउँछन्।

गढीमाई मन्दिरको करिब डेढ बर्ष पुरा इतिहासमा मन्दिरका मूल पुजारी शिव चौधरी रहेको छ। मूल पुजारी चौधरीकै पुर्खालाई देवीले सपनामा दिएको निर्देशन अनुसार मन्दिर स्थापना भएको र यो मन्दिरमा चौधरी नै मूल पुजारी रहँदै आएको उनले भने। 

पशु बलि नै किन ?

बाराको गढीमाई मन्दिर नेपालको मात्रै नभई भारत सहित हिन्दु धर्म मान्नेहरूको लागि ठूलो शक्तिपीठको रुपमा रहेको छ। यहाँ आएर सही हृदय एवं शान्त मनले मागिएको भाकल एवं मनोकामना पुरा हुने भएको हुँदा गढीमाई प्रति आस्था र विश्वास बढ्दै गएको र बलि दिनेहरूको संख्यामा उल्लेख्य संख्यामा वृद्धि भएका छन्।

यहाँको विशेष गरी राँगाको बलि दिइन्छ। तान्त्रिक पद्धतिका कारणले गढीमाई मन्दिरमा राँगा बलि दिने गरिएको मूल पुजारी शिव चौधरी बताउँछन्। गढीमाई मन्दिरमा मुसा, परेवा, बोका, राँगा र खरायो गरी पाँच पशु एवं पंक्षिलाई पञ्चबलि चढाएपछि सर्वसाधारणले भाकलअनुसार बलि चढाउने गर्छन्। मन्दिरका मूल तान्त्रिक दुख धामीले आफ्नो शरीरको ५ स्थानबाट रगत निकालेर चढाएपछि गढीमाई मन्दिरमा बलि सुरु हुने गर्दछ।

पञ्चकोशी वर्गमा मेलामा करोडौँ दर्शनार्थीहरु आउने विश्वास 

मूल मेला व्यवस्थापन समितिले यसपालि लाग्ने पञ्चवर्षीय विश्व प्रसिद्ध मेलामा करोडौँ दर्शनार्थीहरु मेला भर्न आउने अनुमान गरिएको छ। जसका लागि मेला समितिले यो वर्ष एक हजार बिघामा मेला लगाउने तयारी गरेको छ। सो क्षेत्रफलमा विभिन्न स्टलदेखि लिएर मनोरञ्जनका साधन, पार्किङ, सातै प्रदेशका कृषिजन्य वस्तु राख्ने तयारी गरिएको छ।

सोही अवधिमा विशेष मेला सुरु हुन्छ र लाखौँ मानिस देशी विदेशी मेला भर्न आउने गर्दछन्। मेलाको रिपोर्टिङका लागि संसारकै मिडियाका रिपोर्टरहरू बरियारपुर केन्द्रित हुने गर्दछन्।

एक महिनासम्म लाग्ने मेलामा नेपाल भारत लगायत सार्क राष्ट्रका श्रद्धालुहरू दर्शन गर्न आउने गर्दछन्। मेलामा मनोरञ्जनका लागि विभिन्न किसिमका ठुला–ठुल्ला खेल तमासा मौतका कुवा, सरकस, रोटे पिङ लगायत प्रबन्ध गरिएको छ।

संसारमै सबैभन्दा बढी बलि चढाउने भएकाले बाराको वरियारपुर स्थित पञ्च गढीमाई मेलाले अन्तर्राष्ट्रिय चर्चा पाएको छ।

प्रकाशित: ८ कार्तिक २०८१ ११:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App