७ कार्तिक २०८१ बुधबार
image/svg+xml
खेल

एएफसी यू–१७ एसियन कप छनोटमा नेपालले आज जापानसँग खेल्दै

फाइल फोटो

एएफसी यू–१७ एसियन कप छनोटमा नेपालले आज जापानसँग खेल्दैछ। खेल नेपाली समय अनुसार राति साढे १० बजे कतारमा हुनेछ।चारपटकको उपाधि विजेतासँग मैदानमा ओर्लिन लागेको नेपाल उच्च मनोबलका साथ हमाद विन खालिफा स्टेडियममा ओर्लिनेछ।

नेपाल समूह ‘एफ’ मा रहेको छ। यो समूहमा जापान, कतार, र मंगोलिया जस्ता बलिया टोली छन्। समूहमा मंगोलिया तुलनात्मकरुपमा अन्य टीमभन्दा कमजोर मानिन्छ।

नेपालले यो चरणको दोस्रो खेलमा शुक्रबार घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम खेल आइतबार मंगोलियासँग खेल्नेछ।

एएफसी यू–१७ एसिया कपमा छनोट हुने सपना पूरा गर्न नेपालका लागि समूह चरणका यी तीन खेल महत्वपूर्ण हुनेछन्।

छनोटमा एसियाका ४३ टोलीलाई १० समूहमा विभाजन गरिएको छ। तीन समूहमा पाँच/पाँच र सात समूहमा चार-चार टिम समावेश गरिएको छ। १० समूहका विजेता र उपविजेतामध्ये उत्कृष्ट पाँच गरी कुल १५ टिम छनोटबाट फाइनल चरण पुग्नेछन्।

आयोजकका रूपमा साउदी अरेबिया भने पहिल्यै छनोट भइसकेको छ। 

नेपालले सन् १९९८ देखि एएफसी यु–१७ एसियन कप छनोटमा सहभागिता जनाउँदै आएको छ। तर, नेपालले पाँच पटक सहभागिता जनाउँदा एक पटक मात्रै छनोट चरण पार गर्न सफल भएको छ।

सन् २००६ मा सिंगापुरमा भएको प्रतियोगिता खेलेको नेपाल जापानसँग ६–० र दक्षिण कोरियासँग २–० ले पराजित भएको थियो। आयोजक सिंगापुरसँग भने नेपालले गोलरहित बराबरी खेल्दै एक अंक बटुलेर स्वदेश फर्किएको थियो। त्यसयता भने नेपाली टोली समूहचरणमै सीमित रहेको छ।

प्रकाशित: ७ कार्तिक २०८१ ०८:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App