२६ माघ २०८२ सोमबार
image/svg+xml
खेल

माल्दिभ्सको पोस्टमा नेपालको गोल वर्षा, ११-० ले विजयी

रेखा एक्लैले गरिन् ५ गोल

<br>

साफ महिला च्याम्पियनसिप-२०२४ अन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध शानदार प्रदर्शन गर्दै ११-० को फराकिलो जित हासिल गरेको छ।

दशरथ रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमै गोलको वर्षा गर्दै माल्दिभ्सलाई दबाबमा राखेको थियो। खेलको सुरुवातमै नेपालले बलमा पकड जमाउँदै विपक्षीको पोष्टमा लगातार आक्रमण गर्‍यो।

नेपालका लागि रेखा पौडेलले ५ गोल, प्रीति राईले ३ गोल तथा सविता रानामगर, अमिसा कार्की र अनिता केसीले समान एक गोल गरे। यो जितसँगै नेपालले समूह विजेताको लक्ष्य कायमै राखेको छ।

पाँचौं मिनेटमा प्रीति राईले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। त्यसपछि, २९ औं मिनेटमा सविता राना मगरले बक्स बाहिरबाट सुन्दर गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्। खेलको ३२ औं र ४२ औं मिनेटमा रेखा पौडेलले थप दुई गोल गर्दै पहिलो हाफको अन्त्यसम्ममा नेपाललाई ४-० को सुरक्षित अग्रता दिलाइन्।

दोस्रो हाफको वर्चस्वपूर्ण प्रदर्शन

दोस्रो हाफमा नेपालले अझै बलियो प्रदर्शन देखाउँदै माल्दिभ्सको गोलपोष्टमा थप सात गोल गर्‍यो।

४८ औं र ६३ औं मिनेटमा रेखा पौडेलले दुई गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरिन्। ६४ औं मिनेटमा प्रीति राईले आफ्नो दोस्रो गोल गर्दै नेपाललाई ७-० को अग्रता दिलाइन्। ६७ औं मिनेटमा अनिता केसीले थप एक गोल गर्दै स्कोरलाई ८-० बनाइन्।

रेखा पौडेलले ७७ औं मिनेटमा थप एक गोल गरिन्। जसले नेपालको स्कोरलाई ९-० पुर्‍यायो। खेलको अन्तिम समयमा, ८६ औं मिनेटमा प्रीति राईले पेनाल्टीमार्फत अर्को गोल गरिन् र आफ्नो ह्याट्रिक पूरा गरिन्।

त्यस्तै, ८७ औं मिनेटमा अमिसा कार्कीले नेपालका लागि अन्तिम गोल गर्दै स्कोरलाई ११-० मा पुर्‍याइन्।

माल्दिभ्सविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले च्याम्पियनसिपमा बलियो उपस्थिति जनाएको छ। यसअघि नेपालले भुटानसँग गोलरहित बराबरी खेलेको थियो।

प्रकाशित: ५ कार्तिक २०८१ १९:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App