३ कार्तिक २०८१ शनिबार
image/svg+xml
खेल

टुचेलले तोड्लान् त उपाधि खडेरी?

जर्मन प्रशिक्षक थोमस टुचेलले सन् १९६६ पछि पहिलो ठूलो ट्रफी उचाल्ने इङ्ल्यान्डको पर्खाइ अन्त्यका लागि चुनौती सामना गर्न आफू तयार रहेको बताए। इङ्ल्यान्डको फुटबल एसोसिएसन (एफए) ले बुधबार प्रशिक्षकमा नियुक्त गरेपछि उनले लामो समयदेखि इङ्लिस टोलीको उपाधिमा खडेरी तोड्नका लागि चुनौती सामना गर्न तयार रहेको उल्लेख गरेका हुन्।

चेल्सीका पूर्वप्रशिक्षक टुचेलले यो जिम्मेवारी आगामी वर्षको जनवरीदेखि समाल्नेछन्। उनको १८ महिने कार्यकाल सन् २०२६ को विश्वकपपछि समाप्त हुनेछ।

गत सिजनको अन्त्यमा बायर्न म्युनिखसँगको सम्झौता सकिएपछि ५१ वर्षे थोमस कामविहीन थिए। थोमसले ग्यारेथ साउथगेटको स्थान लिनेछन्। यससँगै इङ्ल्यान्डले तेस्रोपल्ट गैरइङ्लिस प्रशिक्षक भित्र्याउने भएको छ।

यसअघि स्विडेनका स्वेन गोरान एरिक्सन र इटालीका फाबियो कापेलोले इङ्ल्यान्डको प्रशिक्षण समालेका थिए। त्यसपछि इङ्लिस टोली समाल्ने थोमस तेस्रो विदेशी प्रशिक्षक हुन्। ‘इङ्ल्यान्डले धेरै उपाधि गुमाएको मलाई राम्रोसँग जानकारी छ। अब ती उपाधि दिलाउन मैले काम गर्नेछु,’ वेम्बलीमा भएको पत्रकार सम्मेलनमा उनले भने।

टुचेल बोरुसिया डर्टमन्ड र पेरिस सेन्ट जर्मेनको प्रशिक्षक पनि थिए, जहाँ उनीसँग कैयन् उपाधिको रेकर्ड पनि छ। त्यसैले पनि एफएले ५८ वर्षदेखिको पर्खाइ अन्त्य गर्ने आशा लिँदै जर्मन प्रशिक्षकलाई भित्र्याएको हो।

सन् १९६६ मा घरेलू भूमिमा सम्पन्न विश्वकप जितेयता इङ्ल्यान्ड विश्व फुटबलको ठूला उपाधिविहीन हुँदै आएको छ। इङ्लिस फुटबलमा पनि जर्मन प्रशिक्षकका लागि सुखद रहेको रेकर्ड छ। उनकै प्रशिक्षणमा चेल्सीले सन् २०२१ को च्याम्पियन्स लिग जितेको थियो। तर, जर्मन प्रशिक्षक थोमसलाई भित्र्याउने एएफको निर्णय आलोचित पनि भइरहेको छ।

इङ्ल्यान्डमा जुड बेलिङ्घमलगायत प्रतिभाशाली खेलाडी भए पनि इङ्लिस प्रशिक्षकप्रति विश्वास नगरिएको भन्दै आलोचना भएको हो। ‘इङ्लिस प्रशिक्षकमाथि विश्वास नगर्नु एफएका लागि संवेदशील प्रश्न खडा भएको छ,’ म्यानचेस्टर युनाइटेडका पूर्वकप्तान तथा इङ्ल्यान्डका डिफेन्डर ग्यारी नेभिलले भनेका छन्।

सन् २०२४ को युरो कप फाइनलमा स्पेनसँग पराजित भएलगत्तै साउथगेटले राजीनामा दिएका थिए। साउथगेटसँगको आठ वर्षदेखिको सहकार्य समाप्त भएपछि एफए नयाँ प्रशिक्षकको खोजीमा थियो। ‘साउथगेट र एफएले गरेका हरेक कार्यलाई अगाडि बढाउनेछु। साथै त्यसमा केही नयाँ गर्नेछु भन्ने विश्वास छ। आफ्नो सिद्धान्तलाई अगाडि बढाउँदै सपनालाई साकार बनाउन प्रयत्न गर्नेछु,’ थोमसले थपे। थोमसलाई इङ्लिस प्रशिक्षक एन्थोनी बेरीले सघाउनेछन्। यी दुईले बायर्नमा पनि सँगै काम गरेका थिए।

एफएका सिइओ मार्क बुलिङ्घमले प्रशिक्षकको १० आवेदकमध्ये थोमसले नै सफलताका लागि सबैभन्दा राम्रो प्रस्तुति दिएको उल्लेख गरे। थोमसले पिएसजीलाई लिगको उपाधिका साथै बायर्न र डर्टमन्डलाई जर्मन कपको सफलता दिलाएका थिए। तर, चेल्सीमा आएपछि उनको सफलतामा अर्को महत्वपूर्ण उपाधि थपिएको हो।

लन्डन क्लब चेल्सीलाई च्याम्पियन्स लिग, युइएफए सुपर कप र क्लब विश्वकपको उपाधि दिलाएपछि उनको चर्चा चुलिएको थियो। चेल्सीमा नयाँ मालिक भित्रिएपछि थोमस सन् २०२२ को सेप्टेम्बरमा बर्खास्तमा परेका हुन्।

त्यसको ६ महिनापछि नै उनले बायर्नमा जिम्मेवारी पाए र बायर्नले लगातार ११ पल्ट बुन्डेसलिगाको उपाधि उचाल्यो। तर, पछिल्ला १२ वर्षमा गत वर्ष पहिलोपटक बायर्न उपाधिविहीन बन्न पुग्यो र थोमससँगको सहकार्य टुटेको हो।

थोमसले नै इङ्ल्यान्डका कप्तान ह्यारी केनलाई गत सिजन बायर्नमा भित्र्याएका हुन्। जहाँ केनको प्रदर्शन उच्च छ र उनले ४५ खेलमा ४४ गोल गरेका छन्। उनै थोमसले जनवरीदेखि सुरु हुने इङ्लिस टोलीको प्रशिक्षणलाई कुन उचाइमा पु¥याउँछन् भन्ने सबैको चासो छ।

–एएफपी 

प्रकाशित: ३ कार्तिक २०८१ ०८:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App