१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ : पुरुष र महिला नेपाली टोली बल च्याम्पियनसिपका लागि प्रतिस्पर्धा गर्दै आज

फिलिपिन्सविरुद्ध बल अगाडि बढाउँदै नेपालकी मनीषा थापा मगर। तस्बिर : नागरिक

घरेलु मैदानमा जारी एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालका पुरुष टोलीले च्यालेन्ज कप र महिलाले बल च्याम्पियनसिपका लागि आज प्रतिस्पर्धा गर्दै छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको इमिरेट्स सेभेन्स ट्रफीमा नेपाली टोलीको प्रदर्शन सुखद हुन सकेन। नेपालको महिला टोलीले भने उब्जेकिस्तानलाई १२–७ ले हराउँदै जितको स्वाद चाख्यो। नेपालकी कप्तान सृजना राई र सुस्मिता क्षेत्रीले समान एक ट्राई गरे। यीमध्ये बिसका राईले एक कनभर्जन किकमा सफलता पाइन्।

यो नतिजासँगै महिला टोलीले एउटा सुखद नतिजा ल्यायो। नेपाली महिला टोलीले आज बल च्याम्पियनसिपको सेमिफाइनलमा श्रीलंकासँग खेल्दै छन्। नेपाली महिला टोलीले त्यसअघि समूह ‘ए’ मा फिलिपिन्स र ग्वामसँग हार बेहोरेको थियो।

नेपाल फिलिपिन्ससँग ३२–० र ग्वामसँग १७–५ ले पराजित भएको हो। फिलिपिन्सले सात ट्राई र एक कनभर्जन गर्‍यो। ग्वामले तीन ट्राई र एक कनभर्जनमा सफलता पाउँदा नेपालकी कप्तान सृजनाले एक ट्राई गरिन्।

एक जित निकाले पनि नेपाली महिला टोलीले सात राष्ट्र सहभागी ट्रफीको तेस्रो र चौथो स्थान लागि प्रतिस्पर्धा गर्न भने पाएन। नेपालले पराजित टोलीको प्रतिस्पर्धा बलतर्फ चुनौती प्रस्तुत गर्न लागेका हो। बल च्याम्पियनसिपको अर्को सेमिफाइनलमा इरान र उज्बेकिस्तानको प्रतिस्पर्धा तय छ।

इरान सहभागी नभएकाले उज्बेकिस्तानले बाई पाउने भएको छ। यद्यपि, पुरुष टोलीले भने घरेलु मैदानमा जारी एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा सुखद प्रदर्शन गर्न सकेन। रग्बी सेभेन्स ट्रफीमा नेपालको पुरुष टोलीले दुई हार सामना गर्‍यो।

समूह ‘बी’ मा रहेको नेपाली पुरुष टोलीले पहिलो खेलमा उब्जेकिस्तानसँग २४–० र दोस्रो खेलमा बहराइनसँग २७–७ स्कोरमा हार सामना गरेको हो। उज्बेकिस्तानले चार ट्राई र दुई कनभर्जनबाट फराकिलो नतिजा आत्मसात् गर्‍यो। बहराइनले भने पाँच ट्राई र एक कनभर्जन गर्दै समूहको शीर्ष दुईको सम्भावना बलियो बनायो।

नेपालका रोहन डंगोल ट्राईमा रहँदा बहराइनले ‘हाई ट्याकल’ गर्‍यो। सोहीअनुरूप नेपालले पेनाल्टी ट्राईमार्फत सात अंक बटुलेको हो। लगातार दोस्रो हारसँगै नेपाली पुरुष टोली च्यालेन्ज कपका लागि खेल्ने तय भयो। महिला तथा पुरुष गरी कुल पाँच खेलमध्ये नेपालले शुक्रबार एउटा मात्र खेल जितेको हो।

शुक्रबार सम्पन्न खेलपछि शीर्ष आठ वरीयताका राष्ट्रले मुख्य ट्रफी र त्योभन्दा तलका टोलीले च्यालेन्ज कपका लागि प्रतिस्पर्धा गर्दै छन्। नेपाल र बहराइन दुवैलाई पराजित गर्दै उज्वेकिस्तान समूह ‘बी’ को विजेता बन्दै मुख्य ट्रफीका लागि अर्को चरणमा प्रवेश गरेको छ।

राउन्ड अफ आठमा बहराइनले फिलिपिन्सको सामना गर्दै छ भने उज्वेकिस्तानले जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली पुरुष टोली ‘च्यालेन्ज’ विधामा प्रवेश गरेको छ। नेपालले शनिबार कतारसँग खेल्ने छ। प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता छ। प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउने छ।

प्रकाशित: १९ आश्विन २०८१ ०६:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App