राष्ट्रिय पूर्वच्याम्पियन पूण्यमान कर्माचार्यले बिहीबार प्रथम फिडे मास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ स्मृति भेट्रान चेस च्याम्पियनसिपको उपाधि जितेका छन्।
अखिल नेपाल बुद्धिचाल संघको आयोजनामा सम्पन्न च्याम्पियनसिपमा सातचरणको समाप्तीमा पूण्यमान टाइब्रेकरको आधार च्याम्पियन भएका हुन्। पूण्यमानसहित चार खेलाडीले सर्वाधिक ५.५ अंक जोडेका थिए। तर, टाइब्रेकरमा पछि पर्दै बद्रिलाल नेपाली दोस्रो, गणेशमान दुवाल तेस्रो र नवीन तण्डुकार दोस्रोदेखि चौथो स्थानमा रहे। पूर्णराज खड्का पाँचौं, विलमलाल श्रेष्ठ छैटौँ, राजेन्द्र बज्राचार्य सातौं, जनार्दन श्रेष्ठ आठौं, भीमदत्त पाडे नवौं र अविरल राई दसौँ स्थानमा रहे। यी सबैले समान पाँच अंक जोडेका थिए।
च्याम्पियन कमाचार्यले ३० हजार रूपैयाँ, उपविजेता नेपालीले २० हजार र तेस्रो स्थानका दुवालले १५ हजार रूपैयाँ पुरस्कार पाए। चौथो भएका नवीन तन्डुकारले १० हजार र पाँचौं स्थानका पूर्णराजले सात हजार रूपैयाँ पुरस्कार पाए। छैटौंदेखि दशौं स्थान हात पार्ने खेलाडीले पाँच हजार रूपैयाँ पुरस्कार प्राप्त गरे। विजेतालाई पूर्वयुवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले पुरस्कृत गरे।
सो अवसरमा अखिल नेपाल खेलकुद महासंघका महासचिव तथा राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्य अञ्जन धमला, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र दिवंगत श्रेष्ठका आमा लक्ष्मी श्रेष्ठ तथा पत्नी संगीता श्रेष्ठ उपस्थिति थिए।
नेपाल बुद्धिचाल संघका वरिष्ठ उपाध्यक्ष तथा अखिल नेपाल बुद्धिचाल संघका संयोजक दीपेन राईले सातै प्रदेशबाट छनोट गरी कुल ४२ खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गरेको जानकारी दिए। पाँच प्रदेशबाट समान पाँच खेलाडी छनोट गरिए पनि कोसी र बागमतीबाट भने समान खेलाडी छनोटको कोटा प्रदान गरिएको उल्लेख गरे। प्रतियोगिताको खेल सञ्चालन मुख्य निर्णायक अन्तर्राष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजुको नेतृत्वमा रहेको प्राविधिक टोलीले गरेको हो। फिडे मास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ बुद्धिचाल संघका पूर्वउपाध्यक्ष हुन्।
प्रकाशित: ११ आश्विन २०८१ १०:१५ शुक्रबार