१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

राखेपको वार्षिकोत्सवमा खेलकुदकर्मी पुरस्कृत हुँदै

नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६१औं वार्षिकोत्सवको अवसरमा पाँच खेलाडीसहित कुल १८ खेलकर्मी सम्मानित हुने भएका छन्।

राखेपका अनुसार खेलाडी र प्रशिक्षकसहित नेपाली खेलकुद क्षेत्रमा विभिन्न भूमिकाबाट योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरू सम्मान गर्न लागिएको हो। राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आज भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको सभामण्डपमा उक्त सम्मान कार्यक्रम हुँदै छ। सो अवसरमा सिनियर र जुनियरमा समान १/१ पुरुष/महिला तथा एक पारा खेलाडीलाई सम्मान गरिने भएको छ। प्रशासनिक र प्रविधिकमा ८ कर्मचारी (२ करार कर्मचारीसहित), दुई खेल पत्रकार, १ स्थानीय तह, १ प्रायोजक तथा १ राष्ट्रिय खेल संघलाई पुरस्कृत गरिनेछ।

यस्तै स्थानीय तह, प्रायोजक र राष्ट्रिय खेल संघलाई कदर पत्र तथा बाँकीलाई कदर पत्रसहित नगद पुरस्कारबाट सम्मान गरिनेछ। सोही अवसरमा राखेपमा २० वर्ष सेवा अवधि पूरा गरेका २ सय ३६ कर्मचारीलाई परिषद् सेवा पदक प्रदान गरिनेछ। वर्षमा हासिल गरेको उपलब्धि, सक्रियता र गतिविधिलाई मध्यनजर गरी पुरस्कृत गर्न लागिएको हो। कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न राखेप कार्यकारी समितिकी सदस्य नन्दा बस्यालको संयोजकत्वमा सात सदस्यीय राष्ट्रिय खेलकुद परिषद्को ६१औं वार्षिकोत्सव उपसमिति– २०८१ गठन गरिएको छ।

उपसमितिको सचिवमा प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल छन्। पुरस्कृत गर्ने खेलाडीलगायत छनोट गर्न विभिन्न पाँच कार्यदल पनि गठन गरिएको छ। तालिम तथा प्रशिक्षण विभागकी उपनिर्देशक संगीना वैद्यको संयोजकत्वमा परिषद् सेवा पुरस्कार लागि कर्मचारी छनोट कार्यदल र राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठको संयोजकत्वमा खेलाडी छनोट कार्यदल गठन गरिएको छ। खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलको संयोजकत्वमा राष्ट्रिय खेल संघ तथा प्रायोजक छनोट कार्यदल, प्रचारप्रसार शाखाका प्रमुख खुशराज दाहालको संयोजकत्वमा खेलकुद पत्रकार छनोट कार्यदल बनाएको छ।

प्रकाशित: २६ भाद्र २०८१ ०८:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App