१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

काभा क्लब महिला भलिबलमा स्वर्ण जित्ने पुलिसको लक्ष्य

माल्दिभ्समा हुने काभा महिला क्लब भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपालको पुलिस टोलीले स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

आगामी सेप्टेम्बरमा १५ देखि माल्दिभ्सको मालेमा पहिलोपल्ट महिला क्लब भलिबल च्याम्पियनसिप सुरु हुँदैछ । उक्त च्याम्पियनसिपमा नेपालको लिग च्याम्पियन नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्दैछ । पुलिसले यसै च्याम्पियनसिपका लागि करिब एक महिना प्रशिक्षण गर्दै आएको छ ।

प्रशिक्षक रूपेश विष्टले लामो समयदेखि प्रभावकारी प्रशिक्षणसँगै सन्तुलित टोली रहेकाले सुखद नतिजा पाउने आशा गरेका छन् । यसै च्याम्पियनसिपका लागि पुलिसले बाहिरको क्लबबाट पनि खेलाडी भित्राएको छ ।

एपिएफकी स्पाइकर सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्युडायमन्डकी मिडल ब्लकर सुमित्रा रेग्मीलाई पुलिसले मालेमा हुने च्याम्पियनसिपका लागि भित्राएको हो । त्यसबाहेक पुलिसमा राष्ट्रिय टोलीका चार खेलाडी छन् । महत्त्वपूर्ण आउट साइड हिटर उषा भण्डारी र पुनम चन्द, अपोजिट हिटर कामना विष्ट, लिबेरो शान्तीकला तामाङले गत महिना मात्र काभा महिला नेसन्स लिगमा नेपाली टोलीको प्रतिनिधित्व गरेका थिए । त्यसबाहेक टोलीमा अनुभवी सेटर कमला पुन छिन् ।

उनलाई सरस्वती कट्टेलले सघाउनेछिन् । लक्ष्मी चन्द अपोजिट सेटर, कोपिला राना मिडल ब्लकर र मनीषा चौधरी गरी पुलिसको टोलीमा कुल १४ खेलाडी छन् । थप चार अफिसियल सहित पुलिस कुल १८ सदस्यीय टोलीसहित माल्दिभ्स प्रस्थान गर्नेछ । यस च्याम्पियनसिपका लागि आयोजक माल्दिभ्सको दुई टोलीसहित नेपाल, उज्बेकिस्तान, किर्गिस्तान र श्रीलंकाका लिग च्याम्पियनले चुनौती प्रस्तुत गर्ने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए। यद्यपि, केही दिनमा सहभागी टोली र समूह चरणबारे टुङ्गो लाग्ने चन्दले बताए । 

प्रकाशित: २५ भाद्र २०८१ १८:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App