२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
खेल

‘तिम्बुङ पोखरी ट्रेल रन’ को तयारी पूरा

समुद्र सतहबाट चार हजार तीनसय मिटर उचाईमा रहेको तिम्बुङ पोखरी क्षेत्रमा हुने ‘तिम्बुङ पोखरी ट्रेल रन’को तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ। भदौ २६ गते हुने रनको तयारी अवस्था बारे पत्रकार सम्मेलनमार्फत जानकारी दिदैं आयोजक तिम्बुङ पोखरी संरक्षण तथा सम्वद्र्धन समितिले रनका लागि आवश्यक तयारी लगभग सकिएको बताएको हो।

समितिका सल्लाहकार कैलाश राई (प्रकाश) ले प्रतियोगिताको आवश्यक तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार तिम्बुङ पोखरीबाट ओरालोतर्फ करिव ८ किलोमिटर (७.८ किमी) दुरीमा दौड हुने छ। दौडका लागि सहभागीले नाम दर्ता सुरु गरिसकेको र ११ जनाले नाम दर्ता गरिसकेको राईले जानकारी दिए।

रनका बिजेताले नगद ३० हजार,उपबिजेताले नगद २० हजार र तृतीय हुनेले नगद १० हजार पुरस्कार पाउने भएका छन्। उचाईको क्षेत्र तिम्बुङ पोखरीमा पहिलोपटक उक्त प्रतियोगिता हुन लागेको हो।

छिमेकी जिल्ला पाँचथर तथा छिमेकी देश भारतसंगको सीमावर्ती क्षेत्रमा रहेको तिम्बुङ पोखरीलाई केञ्जो अर्थात् पदमचालको राजधानीको रुपमा समेत लिने गरिन्छ। दर्जनौं पोखरीहरुको बासस्थान रहेको क्षेत्रको रुपमा परिचित तिम्बुङ पोखरीलाई जडिबुटी केन्द्र समेत मान्ने गरिएको छ।

ताप्लेजुङको सिदिङवा गाउँपालिका र स्थानीय बासिन्दाहरुको प्रयासमा तिम्बुङ पोखरी क्षेत्रको पर्यापर्यटन प्रवद्र्धनका लागि ‘तिम्बुङ पोखरी ट्रेल रन’को आयोजना गरिएको समितिका सल्लाहकार मदन खरेलले जानकारी दिए।

तिम्बुङ पोखरीको भ्रमण तथा दर्शनका लागि अहिलेको समय निकै उपयुक्त मानिन्छ। आफैंले टेन्ट बोकेर रुचाएको ठाउँमा बस्न मिल्ने,होम स्टे र गोठ सहितका स्थानमा समेत बास र खाना पाउन कठिन नहुने तिम्बुङ पोखरी क्षेत्रको भ्रमण तथा अवलोकनमा जानेहरुका लागि आयोजकले आवास व्यवस्थापनको तयारी समेत गरेको जनाएको छ।

ढङढङ्गे झरना,फाँटिला क्षेत्र,सुगन्धित जडिवुटी,भेडाका बथान र चौंरीका गोठ समेतको दृश्यावलोकनले तिम्बुङ पोखरी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि रोजाईको केन्द्र बन्ने गरेको छ। 

प्रकाशित: २० भाद्र २०८१ ११:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App