अमेरिकामा सम्पन्न इन्ट्रा कप फुटबलको ३० वर्ष मुनिका युवातर्फको उपाधि सांग्रिला फुटबल क्लबले हात पारेको छ। जितसँगै क्लबले १५ हजार अमेरिकी डलर र १० तोला सुनको रनिङ्ग कप पनि जितेको छ।
त्यसैगरी ४० वर्षमुनिका सिनियर युथ समूहबाट एफसी रिभाइभल, ४० वर्षमाथिका भेट्रान्सतर्फ कोलम्बस भेटान्स र महिलातर्फ नर्थ डकोटा साइनिंग स्टार विजयी भएका छन्। उनीहरुले क्रमशः १० हजार, १० हजार र ८ हजार अमेरिकी डलर प्राप्त गरेका छन्।
उत्तर अमेरिकी क्षेत्रमा बसोबास गर्ने नेपाली मूल वा नेपाली जातिका खेलाडीहरुका लागि मात्र यी खेलहरु आयोजना गरिएको थियो।
अमेरिकाको ओहायोस्थित कोप्ले सकर कम्प्लेक्समा सेप्टेम्बर १ तारिकमा सम्पन्न भएका यी खेलका बिजयी टिमलाई इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार एवं रकम हस्तान्तरण गरेका थिए।
खेलमा उपविजेता हुने टिमले क्रमशः १० हजार, आठ हजार र ५ हजार प्राप्त गरेका छन्। युवातर्फ पथरी एफसी, सिनियर युथतर्फ युनाइटेड ब्रदर्श, भेटान्सतर्फ न्यूयोर्क इन्ट्रा क्लब र महिलातर्फ योद्धा क्लब उपविजेता बनेका थिए। सुनको रनिंग कपको लागि भने लगातार तीन पल्ट खेल जित्नुपर्ने नियम बनाइएको छ। उपविजेताहरुलाई नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलसहितले पुरस्कार हस्तान्तरण गरेका थिए।
अमेरिकाका विभिन्न राज्यमा बसोवास गर्ने नेपाली जातिको दर्शकहरुको समेत ठूलो उपस्थिति रहेको फुटबल उत्सवमा युवा र भेट्रान्सतर्फ गरी अमेरिका र क्यानडाका गरी ३४ टिमले भाग लिएको आयोजनास्थलका संयोजक चन्द्र पराजुलीले जानकारी दिए। जसमा ३० वर्षमुनिका युवातर्फ पथरी एफसी, चुजन एफसी, जुनियर योंग गाईज इलेभेन, सांग्रिला युथ एफसी, एभरेष्ट युनाइटेड, टेक्सास थन्डर, टिमाई स्वायड, चुके एफसी, ड्याडी एफसी, एक्रोन युनाइटेड सहभागी थिए।
४० वर्षमुनिको सिनियर युथ तर्फ राजाबाबु एफसी, युनाइटेड ब्रदर्श, ह्यारिसवर्ग भेटान्स, हिमालयन हक्स,सागिना एफसी, सिन्सी इन्टा एफसी, नर्थ क्यारोलिना युनाइटेड, एफसी रिभाइवल, थ्री रिभर्स भेटान्स, मिसिगन युथ एफसी, नेक्ट जेन जी एफसी र केन्टकी भेटान्स थिए।
त्यसैगरी ४० वर्षमाथिका भेटान्स समूहतर्फ कोलम्बस भेटान्स, एनवाई इन्टा एफसी, पिट्सवर्ग भेटान्स, सागिना भेटान्स, एफसी रिभाइवल, सेरेनिटी एफसी, पिसजोन एकेडेमी र ह्यारिसवर्ग भेटान्स एफसीको प्रतिसपर्धा छ। महिलातर्फ पिसजोन एकेडेमी गल्र्स, माउन्टेनियर्स एफसी, नर्थ डकोटा साइनिंग स्टार र योद्धा एफसीबीच प्रतिष्पर्धा भएको थियो।
फाउण्डेसनले उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली मूल एवं नेपाली जातिका खेलाडीका लागि हरेक वर्ष फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ।
प्रकाशित: १८ भाद्र २०८१ ०९:४६ मंगलबार





