२ माघ २०८१ बुधबार
image/svg+xml
खेल

दोस्रो इन्टर स्कुल ब्यान्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनलाई

पोखरामा भएको दोस्रो इन्टरस्कुल ब्यान्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनले जितेको छ। पोखरा सांगीतिक कलाकार संघको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ शनिबार भएको फाइनल प्रतिष्पर्धामा नौ स्कुल ब्यान्डलाई पछि पार्दै गुरुकुलले उपाधि जितेको हो। उपाधि विजेता गुरुकुलले नगद एक लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।

शनिबार पोखरा सभागृहको भरिभराउ दर्शकबिच भएको निकै प्रतिस्पर्धात्मक फाइनल प्रतिस्पर्धामा ग्लोबल कलेजियट माविले द्वितीय स्थान प्राप्त ग¥यो भने फिस्टेल एकेडेमीले तृतीय स्थान प्राप्त गरेको छ। द्वितीय स्थान प्राप्त गरेको ग्लोबल कलेजियटले नगद ५० हजार र तृतीय हुने फिस्टेल एकेडेमीले नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो।

प्रतियागिताको बेस्ट भोकलमा कालिका माविका अमोन गुरुङ, बेस्ट बास गिटारिस्टमा लाभिन्स रेसिडेन्सियल स्कुलका सुशान्त केसी, बेस्ट लिड गिटारिस्टमा प्रतिभा माविका सायुस बज्राचार्य उत्कृष्ट घोषित भए। त्यस्तै बेस्ट ड्रमरमा प्रगति बोर्डिङ स्कुल, बेस्ट लिरिक्समा लाभिन्स रेसिडेन्सियल स्कुल र बेष्ट म्युजिक कम्पोजरमा कालिका मावि उत्कृष्ट भए। प्रतियोगितामा पब्लिक च्वाइसतर्फ गण्डकी बोर्डिङ स्कुल र जुरी च्वाइसमा मदरल्यान्ड मावि (बी) घोषित भए। विधागत रुपमा उत्कृष्टलाई नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगिताको फाइनल राउन्डमा सगरमाथा मावि, प्रतिभा मावि, गुरुकुल विद्या सदन, ग्लोबल कलेजियट मावि, कुमुदिनी होम्स मावि, गण्डकी आवासीय बोर्डिङ स्कुल, मदरल्यानड बोर्डिङ स्कुल (बी), फिस्टेल एकेडेमी, कालिका मावि र लाभिन्स रेसिडेन्सियल स्कुलले प्रतिस्पर्धा गरेका थिए।

फाइनल राउन्डमा शनिबार प्रतिस्पर्धी स्कुल व्यान्डहरूले २-२ वटा गीत प्रस्तुत गरेका थिए, जसमा एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकको गीत प्रस्तुत गरेको संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ) गुरुङले जानकारी दिए। प्रतियोगितामा कुल १९ स्कुल व्यान्ड छनोट भएर प्रतिस्पर्धा गरेका थिए।

बिजेताहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा( १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव मनकुमार श्रेष्ठ, संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ) लगायतले पुरस्कार वितरण गरेका थिए।

समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतियोगिताले पोखराको कला र संगीतको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे। उनले गीत–संगीतलाई पनि पेसा बनाउन सकिने स्थिति रहेको बताउँदै भने, ‘गीत–संगीतमा पनि भविष्य छ। यसलाई पनि पेसा बनाएर सजिलै जीविकोपार्जन गर्न सकिन्छ, तर त्यसका लागि तपाईंमा कला र रुचि हुनुपर्‍यो।’

संघले ग्रास रुटबाटै कला र संगीतका प्रतिभा खोज्ने र उनीहरूको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना हो। प्रतियोगिताले पोखराको सांगीतिक माहोल तताउँदै ब्यान्डहरूलाई पुनः जागृत गराउने संघको भनाइ छ। यसले विद्यार्थीमा लुकेर रहेको प्रतिभा उजागर गर्न सघाउ पुग्ने पनि आफूहरूको विश्वास रहेको संघका अध्यक्ष गुरुङले बताए।

संघका सचिव भाष्करध्वज श्रेष्ठले ९० को दशकमा पोखरा ब्यान्डहरूको राजधानी भनेर चिनिएको भन्दै सो पुरानो विरासत फर्काउन प्रतियोगिता कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे। यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दबाब पुग्ने उनको धारणा छ।

प्रकाशित: १५ भाद्र २०८१ १८:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App