३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

भीमबहादुर र सपना वाल क्लाइम्बिङमा च्याम्पियन

नुवाकोटका भीमबहादुर तामाङ र सपना ढुङ्गेल नेपाल माउन्टेनेरिङ एकेडेमीले आयोजना गरेको एकदिने वाल क्लाइम्बिङ प्रतियोगितामा च्याम्पियन भएका छन्।

 धुम्बाराहीस्थित पासाङ ल्हामु वाल क्लाइम्बिङमा भएको प्रतियोगितामा भीम पुरुषमा र सपना महिलातर्फ च्याम्पियन भएका हुन्। पर्वतीय पर्यटनलाई नयाँ पुस्तामाझ परिचित गराउन नेपाल माउन्टेनेरिङ एकेडेमीले वाल क्लाइम्बिङ प्रतियोगिता गरेको हो।

माउन्टेनेरिङ एकेडेमीले पहिलोपटक आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ छिरिङ राई दोस्रो र विज्ञान श्रेष्ठ तेस्रो भए। महिलामा भने जस्मिन कार्की दोस्रो र सरस्वती खड्का तेस्रो भए। काठमाडौंका विभिन्न कलेजमा अध्ययनरत ८० जना विद्यार्थीहरूले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए।

साहसिक पर्यटनअन्तर्गत पर्ने पर्वतीय पर्यटनलाई युवा पुस्तामाझ परिचित गराउँदै यस क्षेत्रतर्फ उनीहरूको आकर्षण बढाउन पहिलो पटक खुला वाल क्लाइम्बिङ आयोजना गरेको माउन्टेनेरिङ एकेडेमीका उपसचिव अर्जुन राईले बताए।

‘पर्वतीय पर्यटनमा पनि शैक्षिक संस्था छ र यसमा पनि उच्च शिक्षा हासिल गरी करियर बनाउन सकिन्छ भन्ने जानकारी युवाहरूमाझ प्रचारप्रसार गर्न पनि यो प्रतियोगीता आयोजना गरेका हौं,’ उपसचिव राईले भने, ‘अझै पनि धेरैलाई पर्वतीय पर्यटनमा शैक्षिक डिग्री हासिल गर्न पाइन्छ भन्ने जानकारी नभएको अवस्थामा यस्ता प्रतियोगीताले यस क्षेत्रप्रति इच्छा र लगाव हुनेलाई जानकारी प्राप्त हुन्छ।’

उनले साहसिक पर्यटन भनेको हिमाल चढ्ने भन्ने मात्र नभई पर्वतीय इकोसिस्टमको अनुसन्धान पनि हो भन्ने थाहा पाउन साहसिक पर्यटनसम्बन्धी आधारभूत ज्ञान यस प्रतियोगिताले दिने विश्वास गरे।

अधिकांश प्लस टु पास गरेका विद्यार्थीहरूलाई लक्षित गरेर आयोजना गरिएको सो प्रतियोगिता एकेडेमीका विद्यार्थीहरूको पहलमा आयोजना भएको हुनाले विद्यार्थीहरू भविष्यमा पर्वतीय पर्यटनमा कसरी कार्यक्रमहरू तय गर्ने भन्ने विषयमा पनि जानकार रहेको उनको विश्वास छ। सो वाल क्लाइम्बिङ प्रतियोगितामा कुल ८० प्रतिस्पर्धीमध्ये ५७ जना पुरुष र २३ जना महिला विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए। 

प्रकाशित: १० भाद्र २०८१ ०८:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App