३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

‘सब्स्टिच्युट’ खेलाडीले फेरेको नतिजा

माल्दिभ्सविरुद्ध गोल गरेपछि भारतका खेलाडी। तस्बिर : एन्फा

फुटबलमा नतिजा सोचेजस्तै हुँदैन। तर, कुनैकुनै नतिजा यस्तो पनि हुन्छ, त्यो ठ्याक्कै सोचेजस्तै निस्कन्छ। प्रसंग हो, साफ यु- २० च्याम्पियनसिपको। समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टोली कुन हुन्छन् भन्ने चासो थियो, तर सबैले अनुमान भने लगाइसकेका थिए- डिफेन्डिङ च्याम्पियन भारत र भुटान।

माल्दिभ्सविरुद्धको अन्तिम खेलअघि तीन टोलीमध्ये तुलनात्मक भारतलाई केही सहज थियो। किनकि माल्दिभ्सविरुद्ध बराबरीको नतिजा पनि भारतलाई अन्तिम चारमा पुग्न पर्याप्त थियो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबारको खेलमा पनि भारतअनुकूल नतिजा निस्कियो। जसरी भए पनि तीन अंक बटुल्ने लक्ष्यसहित माल्दिभ्स ‘गर या मर’ को अवस्थामा मैदानमा उत्रिएको थियो। त्यसैले खेल अविधिभर माल्दिभ्स दबाबमा रह्यो र १-० को नतिजा सुम्पियो।

माल्दिभ्समा मुख्य प्रशिक्षक अहमेद शाकिर भन्छन्, ‘सेमिफाइनलमा पुग्ने विकल्प नै जित थियो। त्यसैले हामी जित्न आएका थियौं। तर, दुर्भाग्यवश अपेक्षाअनुसार भएन।’ शतप्रतिशत जित निकालेको भारत ६ अंकसहित समूह ‘बी’ को विजेता बनेर अन्तिम चारमा पुग्यो।

यता, भुटान उपविजेता हुँदा माल्दिभ्स भने अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो। भुटानसँगको तुलनामा माल्दिभ्सले भारतविरुद्ध सुधारिएको र उत्कृष्ट खेल पस्किएको थियो। माल्दिभ्सका गोलकिपर मोहमेद यामिनको भूमिका त तारिफयोग्य नै रह्यो। किनकि भर्खरै १८ वर्ष पुगेका उनले ९४ मिनेटसम्म भारतीय खेलाडीका आक्रमण बिफल बनाएका थिए। तर, माल्दिभ्सका मिडिफिल्डरले भने शतप्रतिशत दिन सकेनन्। भारतविरुद्ध माल्दिभ्सले मोहमेद अस्फाक, युसुफ साइफ र मोहमेद फिराकलाई मैदान उतारेको थियो।

पहिलो हाफमा भारतले माल्दिभ्सको डिफेन्डरलाई निकै व्यस्त बनायो। त्यसैले पनि विपक्षीको गोल रोक्न यी तीन मिडफिल्डर आफ्नो स्थानबाट डिफेन्स लाइनमा झरेका थिए। उनीहरू पाएको बललाई फरवार्डसम्म पुर्‍याउनभन्दा पनि क्लियर गर्न बढी व्यस्त देखिए। यो कुरा प्रशिक्षक शाकिर पनि स्विकार्छन्।

‘पहिलो हाफमा मिडफिल्डमा समस्या रह्यो। तर, निर्देशनअनुसार खेलाडीहरूले राम्रोसँग पालन गरे र दोस्रो हाफमा राम्रो खेल्यौं। यो खेलबाट हाम्रा खेलाडीले राम्रो अनुभव बटुले,’ उनी भन्छन्। ६५औं मिनेटमा रासद साननले प्रहार गरेको फ्रिकिक बल माथिल्लो बारबाट बाहिरिँदा माल्दिभ्स अग्रता लिन चुक्यो।

निर्धारित ९० मिनेटको खेल सकिन पाँच मिनेट बाँकी रहँदा माल्दिभ्सले अर्को मौका गुमायो। हसन मुजधनले प्रहार गरेको बल पोलमा लागेर बाहिरियो। तर, इन्जुरी समयको पाँचौं मिनेटमा माङ्लेनथाङ किपजेनले गोल गर्दै भारतलाई सनसनीपूर्ण जित दिलाए।

माल्दिभ्सलाई समस्यामा पार्न भारतले आफ्ना विंगर र फुलब्याकलाई राम्रोसँग सदुपयोग गर्‍यो। तर, विपक्षीको बक्सभित्र पाएको केही अवसरलाई भने उसले गोलमा परिणत गर्न सकेको थिएन। पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा भारतले अग्रता लियो।

कप्तान रिकी मितेईले दिएको बललाई पेनाल्टी बक्सबाहिरबाट आएका केल्भिन सिंहले ‘वान टच’ मा गोल गरे। बलले जाली चुमे पनि सहायक रेफ्रीले अफसाइडको झन्डा उठाइदिए। त्यसपछि भारतलाई जित निकाल्न अर्को ५२ मिनेट कुर्नुपर्‍यो।

‘सब्स्टिच्युट’ खेलाडी किपजेन तुरूपको एक्का बनेर निस्किए। उनी ४६औं मिनेटमा गुर्नाज सिंहको स्थानमा मैदान प्रवेश गरेका थिए। उनी मैदान प्रवेश गरेसँगै भारतले आक्रमणको गतिलाई पनि बढाएको थियो। तर, गोल गर्न चुक्दै आएको भारतलाई उनले ९५औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट लामो प्रहार गर्दै जित दिलाए।

भारतलाई किपजेन र ४६औं मिनेट निकै फाप्छ। गत वर्ष नेपालमै भएको साफ यु- १९ च्याम्पियनसिपको फाइनलमा पनि उनले पाकिस्तानविरुद्ध दुई गोल गरेका थिए। त्यति बेला पनि उनी ४६औं मिनेटमा यसरी नै ‘सब्स्टिच्युट’ खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए। अब भारतले सेमिफाइनलमा साबिक उपविजेता बंगलादेशसँग सामना गर्नेछ।

बंगलादेश समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो। यस क्रममा बंगलादेशले श्रीलंकालाई २-० ले हरायो भने आयोजक नेपालसँग २–१ ले पराजित हुन पुग्यो। दुई वर्षअघि बंगलादेश र भारतको भेट फाइनलमा भएको थियो।

भुवनेश्वरमा भएको उक्त फाइनलमा निर्धारित ९० मिनेटको खेल २र्‍२ को बराबरीमा सकियो। तर, पेनाल्टी सुटआउट भने भारत ५-२ ले विजयी भयो। त्यसैले सोमबार हुने दोस्रो सेमिफाइनलमा बंगलादेशलाई सजिलो प्रतिद्वन्द्वी नआँकेको बताउँछन्, भारतका मुख्य प्रशिक्षक रञ्जन चौधरी। ‘फाइनलभन्दा पनि अहिले म बंगलादेश मात्र सोचिरहेको छु,’ उनी भन्छन्।

भारतलाई अहिले सताइरहेको कुरा प्रशिक्षणको हो। त्रिपुरेश्वरस्थित दरशथ रंगशाला समयमै तयार नभएपछि सबै खेल सातदोबाटो सारिएको थियो। मैदानजस्तै अहिले प्रतियोगितामा सहभागी टोलीलाई प्रशिक्षण गर्ने स्थानको पनि कमी छ।

प्रशिक्षणमा टाइम कार्ड लागू गरेको र वर्षा पनि भइरहेकोले निकै गाह्रो स्थिति सामना गर्नुपरेको चौधरी सुनाउँछन्। ‘भारी वर्षा भइरहेकोले सिंगलिङ प्रशिक्षण गर्न पनि पाएका छैनौं। यही खेलबाट पनि सुधार गर्नुपर्ने धेरै देखिएको छ। तीन दिनको समय छ तर वर्षाले प्रशिक्षण गर्न दिँदैन। त्यसैले समस्या भइरहेको छ,’ उनी भन्छन्।

पहिलो सेमिफाइनलमा आइतबार समूह ‘ए’ को विजेता नेपाल र अर्को समूहको उपविजेता भुटान भिड्नेछन्। भुटान पहिलो खेलमा भारतसँग १-० ले पराजित भएको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई २–१ ले पाखा लगाउँदै अन्तिम चारको स्थान पक्का गर्‍यो।

प्रकाशित: ८ भाद्र २०८१ ०६:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App