२८ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

१०औं राष्ट्रिय खेलकुद मंसिरमा हुनेमा संशय

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रस्तावित मितिमा नहुने सम्भावना बढेको छ। राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिता मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्ने प्रस्ताव गरेको थियो। तर, आवश्यक भौतिक पूर्वाधार निर्माणकै क्रममा रहेकाले प्रतियोगिता केही पर सर्ने सम्भावना बढेको हो। प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेशले गरिरहेको तयारीका बारेमा जानकारी लिन आएका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि अहिलेकै अवस्थामा प्रतियोगिता गर्न समस्या हुने बताए।

सात दिनमा कर्णालीले गर्ने भौतिक प्रगतिका आधारमा मात्रै प्रतियोगिताबारे केही भन्न सकिने उनको भनाइ थियो। मन्त्री चौधरीले निर्माण व्यवसायीसँग एक साताको प्रगति विवरण माग गरिएको र सोहीअनुसार मिति तय गरिने बताए।

मंसिर २ गतेदेखि खेल आयोजना हुने जानकारीसहित सबै प्रदेश र विभागीय टोलीलाई जानकारी गराइसकेको पनि उनले बताए। ‘खेलाडीहरू प्रतियोगिताको तयारीमा हुनुहुन्छ, सबै प्रदेश र विभागीय टोलीलाई खबर पनि गरिसकेका छौं। उहाँहरूलाई आवश्यक बजेट दिन मात्रै बाँकी हो, यहाँको तयारी हेरेर बजेट निकासा गछौं,’ उनले भने। प्रतियोगिताका लागि खर्च निर्देशिका तयारी अवस्थामा रहेको पनि उनले जानकारी दिए। तर मिति घोषणालगत्तै प्रदेश र विभागीय टोलीलाई रकम पठाइने बताए।

प्रतियोगिताका लागि कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरमा सुविधासम्पन्न रंगशाला निर्माण गरिरहेको छ। ठेक्काको म्याद समाप्त हुन ३७ दिन बाँकी छ। अरू संरचना तयार भए पनि पारापिटतफको ट्रस्ट, भलिबल प्रतियाेिगताका लागि तयार गरिएको संरचनामा ट्रस्ट राख्न बाँकी छ। यस्तै, रंगशालामा टायल, ढुंगा र मार्बल लगाउने काम पनि बाँकी छ।

निर्माण व्यवसायीले एक महिनामा सम्पूर्ण काम सक्ने प्रतिबद्धता जनाए पनि आफू विश्वस्त नभएको मन्त्री चौधरीले बताए। ‘पाराफिटतर्फको ट्रस्ट जोड्नै एक महिना लाग्ने अवस्था देखिन्छ, जनशक्ति पनि थोरै रहेछ। अरू काम पनि बाँकी भएकाले अहिल्यै मिति घोषणा गर्न हतारो गर्दैनौं,’ उनले भने। समयमै प्रतियोगिता आयोजना गर्नका लागि दुई सिफ्टमा काम गर्न पनि निर्देशन दिए।

६ हजार खेलाडीलाई राख्नका लागि आवासको व्यवस्थापनको टुंगो पहिल्यै लगाउनुपर्ने उनले बताए। कर्णालीले कति जना खेलाडीलाई आवासको सुविधा दिन सक्छ भनेर पनि छलफल हुने उनको भनाइ थियो। तीन विभागीय टोलीको आवासको जिम्मेवारी भने सम्बन्धित विभागलाई दिइएको छ।

कर्णालीमा २३ वटा मात्रै प्रतियोगिता आयोजना गर्न सक्ने बताइएको छ। त्यसैले बाँकी खेल लुम्बिनी प्रदेश र अन्य ठाउँमा आयोजना गरिने मन्त्री चौधरीले बताए। ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जति खेलहरू आयोजना गरेका थियौं, १०औंमा पनि त्यति नै खेल हुन्छन्। कर्णालीले आयोजना गर्न नसक्ने खेल अन्य प्रदेश र काठमाडौंमा पनि आयोजना गर्छौं’ उनले भने। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वामित्र सन्ज्यालले एक महिनाभित्र सबै संरचना निर्माण सम्पन्न हुने दाबी गरे। लक्ष्यअनुसार काम भइरहेको पनि उनले बताए।

प्रकाशित: ५ भाद्र २०८१ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App