१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

आइटिएफ च्याम्पियनसिपमा दिपस्नालाई स्वर्ण

भक्तपुरकी दिपस्ना कार्कीले शनिबार बागमती प्रदेश अन्तर नगर आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्। भक्तपुरको गठ्ठाघरस्थित अर्बिट इङ्लिस स्कुलमा भएको च्याम्पियनसिपमा दिपस्नाले महिला प्याटर्न (पहेंलो पेटी) मा स्वर्ण जितेकी हुन्। 

उनले फाइनलमा मकवानपुरकी गृष्मा थापालाई हराइन्। भक्तपुर जिल्ला आइटिएफ संघको आयोजनामा भएको दुईदिने प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य एवम् एसियन आइटिएफ महासंघका कार्यकारी सदस्य अन्जन धमला र सूर्यविनायक नगरपालिका वडा–२ का अध्यक्ष प्रदीप कार्कीले गरेका थिए।

दक्षिण एसिया आइटिएफ महासंघका उपाध्यक्षसमेत रहेका धमलाले प्रतियोगिताकी रेफ्री सुस्मी श्रेष्ठलाई ग्लोब्स हस्तान्तरण गर्दै उद्घाटन गरेका हुन्। महिला प्याटर्नकै हरियो पेटीमा मकवानपुरकी कृति योन्जनले स्वर्ण पदक जितिन्। 

उनले फाइनलमा बनेपाकी कन्चन रायमाझीलाई हराइन् । यसै विधाको नीलो पेटीमा भक्तपुरकी रोनिका पराजुलीले स्वर्ण जितिन्। उनले फाइनलमा ललितपुरकी संगीता कार्कीलाई हराइन्। महिला प्याटर्नकै रातो पेटीमा बनेपाकी तुलसी गौतम र भक्तपुरकी दीपा तामाङ शीर्ष दुई स्थानमा रहे। 

फाइटतर्फ महिला ३१–३५ केजी तौलसमूहमा सिम्रिका कार्की र संयुक्ता बजगाइ फाइनलमा पुगे। महिला ३६–४० केजी तौलसमूहमा साम्राज्ञी लिम्बु र याश्णा पौडेल फाइनलमा पुगेका छन्।

त्यस्तै महिला फाइटको २१–२५ केजी तौलसमूहमा प्रकृति श्रेष्ठ र खुसी मगर फाइनलमा पुगेका छन्। यसै विधामा २६–३० केजी तौलसमूहमा आकृति नेपाल र उहाना बख्रेलले स्वर्ण पदकका लागि भिडन्त तय गरेका छन्। 

४१–४५ केजी तौलसमूहमा दीपा तामाङ र स्मृति तामाङ सेमिफाइनलमा पुगेका छन्। कुल ११ नगरपालिकाका ३२० खेलाडीले चुनौती प्रस्तुत गरिरहेको प्रतियोगिता संयोजक तथा भक्तपुर आइटिएफ तेक्वान्दोका अध्यक्ष आशिष कार्कीले जानकारी दिए।

महिलातर्फ ५ र पुरुषमा ६ तौलसमूहमा प्रतिस्पर्धा भैरहेको छ। प्याटर्नमा पहेंलो, हरियो, नीलो र रातो पेटीमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो हुने टोलीले ट्रफी पाउने भएका छन्। प्रतियोगिताका उत्कृष्ट महिला र पुरुष खेलाडीलाई पनि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित: २ भाद्र २०८१ ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App