३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

इरानको पहिलो जित

 उत्कृष्ट पुनरागमन गर्ने श्रीलंकाको लक्ष्य असफल बनाउँदै इरानले शुक्रबार काभा महिला भलिबल नेसन्स लिगमा पहिलो जित निकालेको छ।

पहिलो दुई सेट आफ्नो बनाउँदै इरान श्रीलंकाविरुद्ध सहज जितको संघारमा थियो। तर, त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा उत्कृष्ट पुनरागमन गर्ने श्रीलंकाको लक्ष्य सफल भएन र इरानले ३-२ को सेटमा नाटकीय जित निकाल्यो।

एकपक्षीय रूपमा इरान हाबी भइरहेको खेलमा श्रीलंका बराबरीको स्थितिमा आएपछि खेलले रोमाञ्चक मोड लियो। दबाबमा परिरहेको श्रीलंकाले नाटकीय रूपमा पुनरागमन गर्ने संकेत पनि देखायो। पहिलो दुई सेट २५-२० र २५-१२ ले इरानको पक्षमा रह्यो। दोस्रो सेटको प्रदर्शन नियाल्दा श्रीलंका सोझो सेटमा पराजित हुने आंकलन गरिएको थियो।

यद्यपि, तेस्रो सेट अनुमानभन्दा फरक रह्यो। यस क्रममा श्रीलंकाले प्रतिस्पर्धात्मक बनेको सो सेट २५–२२ ले आफ्नो बनाउँदै खेलमा फर्कने संकेत देखायो। सोहीअनुरूप श्रीलंका सफल पनि भयो। चौथो सेटमा इरानी खेलाडी थकित देखिए र तालमेल नै गुमाए।

यसको फाइदा लिँदै श्रीलंका एकपक्षीय रूपमा हाबी भयो। यो सेट श्रीलंकाले २५-१३ ले आफ्नो पक्षमा पार्दै सनसनी नै मच्चायो। यससँगै खेल निर्णायक तथा पाँचौं सेटतर्फ धकेलियो। चौथो सेटमा दबदबाका कारण श्रीलंका उच्च मनोबलसहित पाँचौं सेटमा गएको अनुमान गरिएको थियो।

तर, इरानले राम्रो गर्दै सुरुआती अग्रता लियो। अग्रता उल्ट्याउँदै श्रीलंका ९-८ को स्थितिमा पुगे पनि सेट जोगाउन सकेन। एक समय श्रीलंकाले १०-८ को अग्रता लिएको थियो। तर, श्रीलंकाका खेलाडीले चार टच गरेको भन्दै इरानले अपिल गरेपछि केही समयको छलफलपछि म्याच रेफ्रीले त्यो अंक खोसे।

यससँगै विवाद सिर्जना हुँदा श्रीलंकाका प्रशिक्षकले पहेँलो कार्ड पनि सामना गर्नुपर्‍यो। यसपछि श्रीलंकाले लय गुमाउँदा इरानले भने लगातार अंक जोड्यो। अन्ततः इरानले निर्णायक सेटमा १५-११ ले बाजी मार्‍यो।

यससँगै श्रीलंकाको पुनरागमन गर्ने लक्ष्यलाई इरानले ३-२ ले निराश पार्‍यो। इरानले दोस्रो खेलबाट जित निकाल्दै नेपालमा जारी काभा महिला भलिबल नेसन्स लिगमा अंकको खाता खोलेको छ। इरानले दोस्रो खेलबाट जित निकाल्दा श्रीलंकाले भने दुई खेलमा पनि सफलता प्राप्त गर्न सकेको छैन।

यसअघि पहिलो खेलमा इरान भारतसँग ३-१ र श्रीलंका आयोजक नेपालसँग ३-० को सोझो सेटमा पराजित भएका हुन्। पाँच राष्ट्र सम्मिलित काभा महिला भलिबल नेसन्स लिगमा समान दुई खेलबाट इरानले दुई अंक र श्रीलंकाले एक अंक जोडे।

भारतको दोस्रो जित

डिफेन्डिङ च्याम्पियन भारतले लगातार दोस्रो जित निकाल्दै काभा महिला भलिबल नेसन्स लिगमा शीर्ष स्थानको दाबेदारी प्रस्तुत गरेको छ। आफ्नो प्रमुख खेलाडी (सेटर) तथा कप्तान जिनी केएसबिना खेलेको भारतले शुक्रबार माल्दिभ्समाथि ३-० को सोझो सेटमा जित निकालेको हो।

कप्तान जिनीलाई डेङ्गी भएको आशंका गरिएको छ। एकपक्षीय बनेको खेलमा भारतले दोस्रो र तेस्रो सेटमा बेन्चका खेलाडीलाई अवसर दिएको थियो। तर, पनि माल्दिभ्सले चुनौती प्रस्तुत गर्न सकेन। माल्दिभ्सका पनि दुई सिनियर खेलाडी भुटानमा जारी बिच भलिबलमा खेलिरहेका छन्। त्यसको अभाव खड्किँदा माल्दिभ्स झन् कमजोर देखिएको छ।

पहिलो सेट माल्दिभ्सले २५-६ ले सहजै गुमायो। तर, दोस्रो सेटमा भारतले बेन्चका खेलाडीलाई अवसर दिए पनि माल्दिभ्सले खासै सुधार गर्न सकेन। भारतले दोस्रो सेट २५-११ र तेस्रो सेट २५-१० ले सहजै आफ्नो बनायो।

यससँगै माल्दिभ्सले पहिलो खेलमा सहजै हार बेहोर्दा भारतले भने दुई खेलमा शतप्रतिशत अंक जोडेको छ। नेपालको एक खेलबाट तीन अंक छ। नेपालले दोस्रो खेल शनिबार नै भारतसँग खेल्ने छ। लिगको शीर्ष स्थानमा रहँदै उपाधिको बलियो दाबेदारी प्रस्तुत गर्ने नेपालको लक्ष्य छ।

त्यसैले पनि शनिबार भारतविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनामा हुने छ। राउन्ड रोबिन लिगको आधारमा जारी प्रतियोगितामा लिगको शीर्ष स्थानमा रहने र चौथो हुने टोली तथा दोस्रो स्थानको र तेस्रो स्थानको टोलीबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुने छ। आयोजक नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्दै छन्।

प्रकाशित: १९ श्रावण २०८१ ०६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App