२ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

काभा महिला भलिबल नेसन्स लिग: नेपालको फाइनल खेल्ने लक्ष्य

काभा महिला भलिबल नेसन्स लिग आजबाट सुरु हुँदैछ। पाँच राष्ट्र सहभागी रहेको प्रतियोगितामा नेपाल पहिलो खेलमा बलियो श्रीलंकाविरुद्ध खेल्न लागेको छ। आजको खेलमा जित निकाल्दै नेपाल सुखद सुरुआत गर्न चाहन्छ।

आयोजक नेपालसहित इरान, भारत, श्रीलंका र माल्दिभ्सले यो प्रतियोगिता खेल्दै छन्। यस प्रतियोगिताको सबैभन्दा बलियो टोली भारत हो भने आयोजक नेपालसहित इरान र श्रीलंकाले पनि कडा चुनौती दिने अपेक्षा गरिएको छ। प्रतियोगिताअगाडि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार भएको पत्रकार सम्मेलनमा नेपाली महिला भलिबल टोलीकी कप्तान अरूणा शाहीले तयारी राम्रो भएकाले फाइनलमा पुग्ने अपेक्षा गरेकी छन्।

अरूणाले पनि सहभागी तीन टोली (भारत, इरान र श्रीलंका) बलियो रहे पनि यस पटक तयारी राम्रो भएकाले फाइनल खेल्ने आशा व्यक्त गरिन्। ‘हामीले तयारी राम्रो गरेका छौं। केही अभ्यास खेल पनि पायौं। सहभागी सबै टोली राम्रै छन्। विशेष गरी भारत र इरान बलिया छन्। श्रीलंका पनि राम्रो छ,’ अरूणाले भनिन् ,‘अब श्रीलंकाविरुद्ध जित निकाल्दै राम्रो सुरुआत गर्छौं।’ आफ्नो उत्कृष्ट प्रदर्शन दिएमा नतिजा राम्रो आउने कप्तान अरूणाको विश्वास छ। रसियासँगको खेलपछि रिसिभ र डिफेन्समा सुधार भएको पनि बताएकी छन्।

यता, श्रीलंकाकी कप्तान कानाहालेग थिलिनी परेराले राम्रो तयारी गर्दै नेपाल आएको उल्लेख गरिन्। उनले नेपालसँग घरेलु समर्थकको बलियो साथ मिल्ने पनि बताएकी छन्। ‘पहिलो खेल नै नेपालसँग छ। घरेलु टोली हो र समर्थकको राम्रो साथ मिल्नेछ,’ उनले भनिन्, ‘यस पटक हाम्रो टोली पनि राम्रो छ र आफ्नो उत्कृष्ट खेल खेल्नेछौं।’ नेपालसँग घरेलु समर्थकको राम्रो साथ हुने भए पनि जित निकाल्ने उनको विश्वास छ । प्रतियोगितामा सबैभन्दा बलियो टोली भारत हो। विश्व वरीयतामा भारत ५७औं स्थानमा छ। भारतले गत महिना मात्र एभिसी भलिबल च्यालेन्ज कपमा राम्रो प्रदर्शन गरेको छ।

यसै प्रतियोगितामा सहभागीमध्ये इरानलाई हराउँदै भारत पाँचौंसमेत भएको थियो। यस क्रममा भारतले इरानलाई नै दुई पटक हराएर त्यो सफलता पाएको हो। भारतकी कप्तान जिनी केएसले पछिल्लो संस्करणमा आफ्नो टोली च्याम्पियन रहेको र त्यो उपाधि जोगाउने लक्ष्य लिँदै तयारी गरिएको बताइन्। ‘हामी पछिल्लो पटक च्याम्पियन हौं। सोहीअनुरूप तयारी गरेका छौं,’ उनले भनिन्। यद्यपि, उनले नेपाल र इरान पनि बलियो टोली रहेको उल्लेख गरिन्। नेपालसँग पछिल्लो भेटमा पनि राम्रो प्रतिस्पर्धा भएकाले यस पटक पनि सोहीअनुरूप प्रतिस्पर्धा हुने अपेक्षा गरेकी छन्। इरानको महिला टोली विश्व वरीयतामा ६३औं स्थानमा छ। इरानले एक महिनाअगाडि मात्र भारतसँग दुई खेल गुमाएको थियो।

यद्यपि, युवा टोलीसहित नेपाल आएको इरानलाई भारतजस्तै बलियो टोलीका रूपमा हेरिएको छ। यस पटक इरानमा औसत २१ वर्ष उमेरका खेलाडी छन्। यो टोली युवा छ। ‘तयारी राम्रो गरेका छौं। अहिले हाम्रो टोली युवा छ। तर पनि हामी नेपालमा राम्रो नतिजा ल्याउँछ,’ इरानकी कप्तान सागहाएघ हासानखानीले भनिन्। आजदेखि नै भुटान काभा बिच भलिबल सुरु हुँदै छ। उक्त प्रतियोगितामा नेपालले पनि चुनौती प्रस्तुत गर्दै छ। माल्दिभ्सले भने सो प्रतियोगितालाई ध्यान दिँदै प्रमुख खेलाडी भुटान पठाएको छ। माल्दिभ्सकी कप्तान तथा सेटर फातिमा जुजान जरिरले पनि आफ्ना सिनियर खेलाडीहरू बिच भलिबल खेल्ने उल्लेख गरिन्।  

यद्यपि, अनुभवी खेलाडीबिना पनि आफ्नो टोलीले राम्रो प्रतिस्पर्धा दिने जुजानको विश्वास छ। यो उपाधि जित्नका लागि नेपालले झन्डै दुई महिनादेखि तयारीसमेत गरेको छ। नेपालले १० दिनआगाडि मात्र विश्व भलिबलको बलियो टोली रसियासँग दुई मैत्रीपूर्ण खेलसमेत खेलेको थियो। यद्यपि, ती मैत्रीपूर्ण खेलमा नेपालले एउटा सेट पनि आफ्नो पक्षमा पार्न सकेन। तर, नेपाली टोली शारीरिक र प्राविधिक रूपमा बलियो रसियाविरुद्ध राम्रो चुनौती दिँदै सकरात्मक सन्देश दिएको छ। यो खेलपछि नेपालले ब्लक, रिसिभ र डिफेन्समा सुधार गरेको नेपालकी कप्तान अरूणा शाहीको विश्वास छ।

काभा महिला भलिबल नेसन्स लिगका लागि १४ सदस्यीय खेलाडी छन्। त्यसमा दुई नयाँ खेलाडी छन्। मैत्रीपूर्ण खेलअगाडि मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले पहिलो पटक नेपाली टोलीमा स्थान बनाएका हुन्। यी दुईले रसियासँग प्रभाव छाडेका थिए। टोलीमा अनुभवी स्पाइकर सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट र सफिया पुन तथा मिडल ब्लकर कविता भट्ट छन्। लिबेरोद्वय शान्तिकला तामाङ र सलिना श्रेष्ठ छन्। मैत्रीपूर्ण खेलमा यी दुई खासै राम्रो प्रभाव छाड्न सकेका थिएनन्।

काभामा भने यी दुई लयमा फर्किने अपेक्षा गरिएको छ। कप्तान अरूणा शाही र प्रगति नाथ सेटर हुन्। अनुभवी अरूणा र प्रगतिलाई नेपालका प्रशिक्षक जगदीश भट्टलाई खेलको परिस्थितिअनुसार प्रयोग गर्दै आइरहेका छन्। उनले नेपाली टोलीमा रहेका १४ खेलाडी नै महत्त्वपूर्ण अंक दिलाउन उपयोगी हुने आशा व्यक्त गरेका छन्। नेपालका लागि महत्त्वपूर्ण स्पाइकर मानिएकी प्रतिभा माली भने चोटका कारण टोलीमा छैनन्। त्यसको अभाव खड्किन नदिन अनुभवी स्पाइकर सरस्वती र युवा स्पाइकर उषाको प्रदर्शनमा पनि भर पर्नेछ। प्रतियोगिता साउन २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्डहलमा चल्नेछ। 

प्रकाशित: १७ श्रावण २०८१ ०६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App