७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

७०५ विकेट लिन नपाएकोमा एन्डरसनलाई पछुतो

१८८ टेस्ट खेल्दै जेम्स एन्डरसनले बीसबर्से लामो करिअर लर्ड्समा अन्त्य गरेका छन्, जहाँबाट उनले खेल्न सुरुआत गरेका थिए। वेस्ट इन्डिजविरुद्ध इनिङ्स र एक सय १४ रनको जितमा एन्डरसनले दोस्रो इनिङ्समा ३२ रन खर्चिंदै तीन विकेट लिए।

खेलपछि एन्डरसनले स्काई क्रिकेटसँग भने, ‘आज बिहान दुवै टोलीका खेलाडी लाइनमा उभिएका थिए। त्यतिखेर म निकै भावुक थिएँ। म अझै पनि आँसु थाम्ने कोसिस गरिरहेको छु। तर, २० वर्षसम्म खेल्न पाएकोमा म निकै गौरवान्वित छु।’  

यो ४१ वर्षीय तीव्र गतिका बलरको अन्तिम टेस्ट थियो। वेस्ट इन्डिज आफ्नो दोस्रो इनिङ्समा एक सय ३६ रन बनाएर अलआउट भएपछि इङ्ल्यान्ड सजिलै विजयी भयो। त्यसअगाडि वेस्ट इन्डिजले पहिलो इनिङ्समा १२१ रन मात्र बनाएको थियो। त्यसको जबाफमा इङ्ल्यान्डले ३७१ रनको स्कोर खडा गरेको थियो। एन्डरसनले यस टेस्टमा चार विकेट लिए।  

उनी टेस्ट क्रिकेट इतिहासका दुई महान खेलाडी मुथैया मुरलीधरन र शेन वार्नपछि तेस्रो सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। श्रीलंकाका स्पिनर मुरलीधरनले सर्वाधिक ८०० विकेट लिएका छन्। यस्तै, अस्ट्रेलियाका लेग स्पिनर वार्नले ७०८ विकेट छन्।

सन् २००३ मा लर्ड्समै भएको जिम्बाबेविरुद्धको खेलमार्फत इङ्ल्यान्डको टोलीमा डेब्यु गरेका एन्डरसनले भने २.७९ को इकोनोमीमा ७०४ विकेट मात्रै लिन सके। अन्तिम खेलमा एन्डरसनलाई एक विकेट थप्दै ७०५ मा पुर्‍याउने मौका पनि जुरेको थियो। तर, उनले आफ्नै बलमा गुडकेश मोतीको क्याच लिन सकेनन्। उनलाई यो कुराले भने निकै पछुतो लागेको छ।

‘मलाई अझै पनि त्यो क्याच छाडेकोमा पछुतो छ। तर, यो एक अविस्मरणीय हप्ता भएको छ। भीडको प्रतिक्रियाले म भावुक भएँ,’ उनले भने। एन्डरसन आफ्नो टोलीका लागि सबैभन्दा धेरै टेस्ट खेल्ने खेलाडी हुन्।

नासिर हुसेनसँग आफ्नो करिअर सुरु गरेका उनले त्यसपछि माइकल वान र एलेक स्टिवर्टसँग खेले। गस एटकिन्सन र जेमी स्मिथ उनले पछिल्लो समय ‘ड्रेसिङ रुम सेअर’ गरेका खेलाडी हुन्। समग्रमा टेस्ट क्रिकेटमा उनले १०९ खेलाडीसँग ‘ड्रेसिङ रुम सेअर’ गरेका छन्।

‘यस्ता राम्रा खेलाडीसँग खेल्न पाएकोमा म निकै भाग्यमानी ठान्छु। टोलीमा धेरै प्रतिभावान् क्रिकेटरहरू छन्। उनीहरू मेरा असल मित्र पनि हुन्,’ उनी भन्छन्, ‘यो वास्तवमै विशेष खेल हो। कुनै पनि अन्य खेलले यस प्रकारको वातावरण सिर्जना गर्दैन, यस्तो मित्रता कायम गर्दैन। यो एक सानदार यात्रा रह्यो।’

वेस्ट इन्डिजविरुद्ध टेस्ट जित्दै सुखद बिदाइ लिन पाउनु उनका लागि योभन्दा राम्रो अनुभूति अरू केही हुने छैन। यो साता उनले मात्रै होइन, यही खेलमा डेब्यु गरेका गसले समेत उत्कृष्ट प्रदर्शन गर्दै १२ विकेट लिए। एन्डरसन भन्छन्, ‘गस डेब्यु गज्जबको थियो। जेमी स्मिथले पनि डेब्युमा अविश्वसनीय खेल प्रदर्शन गरे। उनीहरूलाई मिस गर्ने छु।’

विराट कोहली र सचिन तेन्दुलकरजस्ता विश्वका उत्कृष्ट ब्याट्सम्यानविरुद्ध उनको संघर्ष निकै चर्चित छ। बललाई दुवैतिर घुमाउने र ब्याट्सम्यानलाई अफ्ठ्यारोमा पार्ने उनको कलालाई अचम्मको मान्न सकिन्छ। उनी इङ्ल्यान्डका उत्कृष्ट स्ट्राइक बलरमध्ये एक हुन्। जसले ३२ पटक पाँच विकेट लिएका छन्।

हुन त इङ्ल्यान्डमा धेरै तीव्र गतिका बलरहरू छन्। तर, उनलेजस्तो लामो समय क्रिकेट भने कसैले खेल्न पाएनन्। प्रायले चोटका कारण आफ्नो क्रिकेट करिअर चाँडै सक्काए। तर, एन्डरसनले आफ्नो करिअरभर आफूलाई भरपर्दो र फिट राखे। उनलाई इङ्ल्यान्डका अहिलेसम्मकै उत्कृष्ट क्रिकेटरका रूपमा स्मरण गर्न सकिन्छ, जसले जस्तै पिचमा पनि विकेट लिन सजिलो बनाए। 

भारतीय पूर्वक्रिकेटर तेन्दुलकर ‘एक्स’ मा लेख्छन्, ‘जिमीले आफ्नो २२ वर्षको सानदार स्पेलले खेलप्रेमीलाई मन्त्रमुग्ध पारे। उनले बलिङ गरेको हेर्न पाउँदा खुसी लागेको थियो। जुन गति, परिशुद्धता, स्विङ र फिटनेसका साथ बलिङ उनले गरे, त्यो गजबको छ। उनले आफ्नो खेलबाट नयाँ पुस्तालाई प्रेरित गरेका छन्।’

एन्डरसनले यस टेस्टअघि काउन्टी खेलमा नटिंघमसायरविरुद्ध खेल्दा लंकाशायरका लागि ३५ रन खर्चेर सात विकेट लिएका थिए। यो खेलपछि ओल्ड ट्राफोर्डमा लंकासायरका लागि खेल्ने कि नखेल्ने भनेर सोधिएको प्रश्नमा एन्डरसनले हाँस्दै भने, ‘मैले अहिलेसम्म केही सोचेको छैन। जीवनले अब कहाँ लान्छ त्यहाँ जाने छु। म बलिङ डिपार्टलाई सकेसम्म मद्दत गर्ने छु।’ –एजेन्सी

प्रकाशित: २९ असार २०८१ ०७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App